२५ बर्षपछि नरैनापुरमा बिजुली बत्ती पुग्यो

0
641

नेपालगन्ज, असार १६ – वि.स. २०५२ सालमा बत्तीको पोल गाडेर बाँकेको नरैनापुरमा बत्ती बाल्नका लागि थालिएको प्रयास २५ बर्षपछि २०७७ असार १६ गते पुरा भएको छ । असार २२ गते मंगलबार पहिलोपटक विजुली बत्ती बलेको छ । पोल गाडेको २५ बर्ष बित्दा समेत अन्धकारमै रहेको नरैनापुर गाउँपालिकामा विजुली बत्ती बलेको हो । प्रदेशसभा सांसद् कृष्णा केसी नमुनाले कट्कुइँयास्थित ट्रान्सर्फमरको स्विच अन गरेर औपचारिक उद्घाटन गर्नुभएको हो ।

विभिन्न बाधा व्यवधान र अप्ठेराका बीच कछुवा गतिमा अघि बढेको विद्युतीकरण कोरोना कहरसंगै भने तीब्र बनेको थियो । कोरोनाको चपेटामा पर्दा विजुली नहुँदाको पीडा भोगेको नरैनापुरमा तत्काल विद्युत लैजानुपर्ने दबाबका बीच पछिल्लो समय तीब्र गतिमा काम भएको थियो । जेठको पहिलो साताबाट थालिएको पहलले एक महिनामै मूर्तरुप पाउँदा नरैनापुरमा बत्ती बलेको हो । विकासमा सदियौंदेखि ठगिएको नरैनापुर लगायत बाँकेको राप्तीपारीका सबै क्षेत्रमा विद्युत र सडक पुर्याउने अभियानमा जुटेका केही खास नेताहरु मध्येका एक बाँके क्षेत्र नम्बर १ का सांसद महेश्वर गहतराज अथक अहिले निकै खुशी हुनुहुन्छ । लामो प्रयास, दौडधुप र संघर्षपछि अहिले राप्तीपारीको नरैनापुरसम्म विद्युत पुगेपछि सांसद अथकले अहिले आफुलाई अत्यन्तै खुशी, गौरव र आत्मसन्तुष्टि भएको बताउनु भएको छ । सो क्षेत्रमा बिद्युतको मेनलाईन बिस्तारको काम सकिएसंगै ग्रामिण क्षेत्रमा जनताको घर घरमा बिद्युत जोडने काममा बिद्युत प्राधिकरणलाई कर्मचारी खटाउन समेत उहाँले आग्रह गर्नु भएको छ । उहाँले अब राप्तीपारीका बघौडा लगायतका क्षेत्रहरु विकास र सम्बृद्धिको युगमा प्रवेश गरेको बताउनु भयो । उहाँले सो क्षेत्रमा भएको बिद्युतीकरणले कृषि र उद्योगको सम्भावनाको ढोका खोलेको बताउनु भयो । बिद्युत बिस्तार संगै सडक निर्माणका कामले पनि पुर्णता पाएकोले नरैनापुर बाँकेको मुल प्रवाहमा जोडिएको बताउनु भयो । प्रदेश सांसद् नमुनाले नरैनापुरमा विजुली बल्दा अत्यन्त हर्षित भएको बताउँदै आफूले नरैनापुरलाई उज्यालो बनाउन गरेको मेहनत पूरा भएको बताउनुभयो । विभिन्न अप्ठेरा र अवरोध पन्छाउँदै लकडाउन र कोरोना कहरकै बीच काम गर्ने विद्युत प्राधिकरण, ठेकेदार कम्पनीलाई धन्यबाद दिँदै उहाँले पक्की सडक र विजुली पुगेपछि अब नरैनापुर दुर्गम नरहेको बताउनुभयो । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बर्षौंदेखिको नरैनापुरबासीको विजुली बाल्ने सपना पूरा हुँदा आफू निकै खुसी भएको बताउँदै अब सिंचाईसंगै उद्योगधन्दाको विकास गर्न बाटो खुलेको बताउनुभयो । लक्ष्मणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई पनि अब अस्पतालका रुपमा विकास गरी सेवा सुविधासम्पन्न बनाउन सहज हुने भन्दै उहाँले हिजोका कहालीलाग्दा दिन फेरिएर नरैनापुर विकास पथमा लम्किएको बताउनुभयो । सबैको पहल, प्रयास र हातेमालोले नरैनापुरमा ढिलै भएपनि विजुली पुग्दा स्थानीय निकै हर्षित भएको अध्यक्ष शाहले बताउनुभयो । जेठ दोस्रो सातादेखि मटेहियाबाट कट्कुइँयासम्म पोल गाड्ने र तार तान्ने काम शुरु गरेर सम्पन्न गरिएको थियो । अब मुख्य लाइनबाट गाउँगाउँमा विजुली पुर्याउन काम गरिने र यहाँका गरिब विपन्नलाई निःशुल्क लाइन जडान गरिने भएको छ ।

प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले कोरोनाबाट मुक्ति पाएको नरैनापुरमा नयाँ युगको सुरुवात भएको बताउनुभयो । नेकपाका जिल्ला सचिव अशोक कोइरालाले सबैको प्रयासले नरैनापुरले काँचुली फेर्दै गएको बताउनुभयो । त्यस अवसरमा भैरव प्रसाद गण राँझाका गणपति प्रमुख सेनानी नकुल थापा, नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, प्रशासन तथा जिन्सी शाखा प्रमुख भरत महतो लगायतको उपस्थिति थियो । नरैनापुरको बिद्युतिकरण गर्ने आफ्नो पहलकदमिमा साथ दिने उर्जा मन्त्री, राजनीतिक दल र निरन्तर खवरदारी गर्ने सञ्चारककर्मीहरुलाई समेत सांसद अथकले बिशेष धन्यवाद दिनु भएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here