हुलाकी सडक नबन्दा लेकबेशी नगरको मुख्य सडक अवरुद्ध

0
498

टेकेन्द्र बस्याल, भदौ ३०-लेकबेशी नगरपालिका कार्यालय र वडाहरु जोड्ने एकमात्र मुख्य धुलियाविट–भेडावारी–बोटेचौर हुलाकी सडक निर्माण कम्पनीले वेपारिसे छोड्दा पालिका नै सडक संजालबाट अवरुद्ध भएको छ । साउन लागेदेखि सडक निर्माण कम्पनीले काम रोक्दा वर्षातले हुलाकी सडक हिलाम्य भई आवतजावत अवरुद्ध भएको हो ।


लेकबेशी नगरपालिका रहेको कल्याणमा मोटरसाईकल पुग्न समेत बन्द भएको लेकबेशी नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष प्रतिमान बाँकवलले बताउनुभयो । हुलाकी सडक विस्तार र मर्मत सुरु गरेसंगै बर्षातले अहिले प्राय लेकबेशी नगरपालिका जोड्ने हुलाकी सडक हिलो, खाडल, पहिरोले अवरुद्ध भएको छ । विरेन्द्रनगरबाट लेकबेशी हुँदै घुयाबारी संचालन हुने बस सेवा र स्थानीय अटोरिक्सा सेवा समेत अवरुद्ध भएको वडाअध्यक्ष बाँकवलले जानकारी दिनुभयो ।धुलियाविट–भेडावारी–बोटेचौर हुलाकी सडकखण्डको स्तरोन्नतीको जिम्मा कालीका कन्ट्रक्शनले पाएको छ । बर्षातसंगै अवरुद्ध सडक निर्माण नगर्दा यो सडकमा चालक, यात्रु र स्थानीयले कष्ट भोग्नु परिरहेको छ ।

पूर्वी सुर्खेतका चिँगाड, कल्यान, नेटा, डाडाखाली, दशरथपुर, लेखफर्सा, बजेडीचौर लगायत थुप्रै गाउँलाई जोड्ने धुलियाविट–भेडावारी–बोटेचौर सडकखण्ड अहिले बर्षातसंगै हिलाम्मे र माटोले पुरेको छ । ठेकेदार बर्षात अगाडी तीव्र गतिमा काम गरेपनि अहिले काम नगर्दा धुलियाविट–भेडावारी–बोटेचौर सडकलाई पूर्व–पश्चिम जोड्ने मदन भण्डारी राजमार्गले लेकबेशी नगरपालिकालाई सडक संजालबाट टाढा बनाएको लेकबेशी नगरपालिकाका मेयर उमेशकुमार पौडेलले बताउनुभयो । निर्माण कम्पनीलाई सडक मर्मत र आवतजावत सहज गराईदिन आग्रह गरेपनि बर्षात सकिएपछि मात्रै मर्मत हुने बताएको पौडेलले भन्नुभयो ।

मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले धुलियाविट–भेडावारी–बोटेचौरखण्डको स्तरोन्नतीका लागि करिब एक अर्ब ५१ करोड रुपैयाँमा निर्माण थालेको छ । धुलियाबिटदेखि बोटेचौरसम्म (३५ किलोमिटर) सडकखण्डको स्तरोन्नतीका लागि कालिका कन्ट्रक्शनले ठेक्का पाएको छ । यो सडक आयोजनाबाट अहिले वीरेन्द्रनगर नगरपालिकाका– ११ र १३, लेकबेशी नगरपालिकाका–१, २, ३, ४, ६, ७, ९ र १० सँगै गुर्भाकोट नगरपालिकाका–१०, १२, १३ र १४ नम्वर वडाहरु प्रत्यक्ष प्रभावित भएका छन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here