जाजरकोट , जेठ १२- दलित अधिकारकर्मीले रुकुम पश्चिममा विभत्स हत्या गरेर मारिएका जाजरकोटका युवा नवराज विकलाई सहिद घोषणा, घाइतेको निशुल्क उपचार र दोषीलाई जन्मकैद माग गरेका छन्। प्रदेश नम्बर ५ र कर्णाली प्रदेशबाट घटनाको अनुगमन गर्न पुगेका मानवअधिकारकर्मी र दलित अधिकारकर्मीले माग पूरा नभए कडा अान्दोलन गर्ने समेत बताएका छन्।
सोमबार जाजरकोटस्थित भेरीनगरपालिकाका मेयर चन्द प्रकाश घर्तीलाई ज्ञापनपत्र बुझाउदै स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारको ध्यानाकर्षण गराएको हो । मृतकलाई सहिद घोषणा, घाईतेको उपचार र दोषीलाई हदैसम्मको जन्मकैद हुनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ। ज्ञापनपत्र बुझ्दै मेयर चन्द प्रकाश घर्तीले अधिकारकर्मीका माग र अावाज सम्बोधन गर्न तत्पर रहेको बताउनुभयो । सहभागीले न्याय नदिए अन्तराष्ट्रिय अदालत जाने चेतावनी दिएका छन । साथै उनीहरुले वडाध्यक्ष, जिल्लाका नेताहरु र सुरक्षाकर्मीको योजनामै घटना ढाकछोप गर्न खोजिएको दाबी गरेका छन ।राष्ट्रिय दलित पत्रकार संघ, कर्णाली प्रदेशका अध्यक्ष खगेन्द्र सुनारले नवराज विकलाई न्याय नमिले अन्तराष्ट्यि अदालत जाने चेतावनी दिएका हुन ।सोमबार जाजरकोटमा भएको प्रदर्शनपछि जिल्ला प्रहरी कार्यालय अगाडी भएको कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष सुनारले जातीय विभेद गरेर दलित युवा मारिएको घटना छानबिन नगरी दबाउन खोजिए अन्तराष्ट्रिय अदालत गएर पनि न्याय खोज्ने बताए ।साथै उनले घटनाका बारेमा स्थानीय नेता, प्रहरी र उच्च तहका नेताहरुले समेत नबोलेको भन्दै आपत्ति जनाएका छन । नेपाली कांग्रेसनिकट युवा भ्रातृ संगठन तरुण दलका सदस्य समेत रहेका सुनारले तत्काल हत्यारालाई खोजी गरेर कारबाही प्रक्रिया अगाडी बढाउनुपर्ने बताए ।
अरु दलित अधिकारकर्मीले घटनाका दोषीलाई कारबाहीको माग गरेका छन । घटनाका बारेमा बुझ्न राष्ट्रिय मानवअधिकार आयोगको एक टोली पनि जाजरकोट पुगेर अध्ययन शुरु गरेको छ ।शनिबार राती प्रेमिका शुष्मा मल्ललाई बिहेका लागि भगाउन खोज्दा जाजरकोट रानागाउँका युवा नवराज विकसहित अरु तीन जनालाई रुकुम सोतीका युवतीका आफन्तले मारेर फालेको मृत्तकका आफन्तको आरोप छ ।