पञ्चदेवल विनायकमा थप ४५ ले पाए ३० दिनको रोजगारी

0
469

पञ्चदेवल विनायक अछाम, सुनिल अधिकारी- प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजनाहरु पञ्चदेवल विनायक नगरपालिकामा धमाधम सुरु भएका छन् । यसवर्ष नगरपालिकामा आएको बजेट ४४ लाख ३० हजारको विभिन्न वडामा काम सुरु हुने क्रममा आज वडा नम्बर ४ कालिकास्थानमा आयोजना सुरुवात भएको हो । लाड्छे-कालिकास्थान खानेपानी आयोजनाको आज बिहान आयोजित शुभारम्भ कार्यक्रममा नगर प्रमुख देवराज देवकोटा, नगर उपप्रमुख अम्बिका चलाउने, वडा नं ४ का अध्यक्ष सज्जन बहादुर शाही, नगरपालिका कार्यालय प्रमुख पदमबहादुर माझी, रोजगार संयोजक भरतराज अधिकारी, इन्जिनियर माधव अधिकारी, सब-इन्जिनियर तिर्थ न्यौपाने लगायतको सहभागिता रहेको थियो ।
यसवर्ष विनियोजित रकम रु ९ लाख ७६ हजार ६ सय ६६ रकमबाट सञ्चालन हुने उक्त आयोजनाका लागि ३० दिन काम गर्ने गरी ४५ जना बेरोजगार व्यक्तिहरुको छनोट गरिएको छ । आयोजनामा काम गर्ने श्रमिकले प्रति दिन ५१७ का दरले पारिश्रमिक पाउने र उक्त रकम सिधै श्रमिकको बैंक खातामा जम्मा गरिने रोजगार संयोजक अधिकारीले बताउनुभयो । यसवर्ष कोरोना भाइरसको कारण आयोजना सञ्चालनमा ढिलाइ भएको साथै सुरक्षित रुपले सामाजिक दूरी कायम गरी आयोजना सञ्चालन गर्नुपर्दा काममा खटिने व्यक्तिलाई मास्क, सेनिटाइजर, ग्लोब्स् आदि सुरक्षा सामग्री प्रदान समेत गरिएको थियो । आयोजना शुभारम्भ समारोहमा बोल्दै नगर प्रमुख देवकोटाले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट सञ्चालन हुने आयोजनाहरु विशेष गरी रोजगारमूलक आयोजना भएकाले एकातिर रोजगारी हुने साथै अर्कोतिर प्रभावकारी कार्यसम्पादनमा सबैले जोड दिनुपर्ने बताउनुभयो । यस्तै उपप्रमुख चलाउनेले यो आयोजना नगरवासीको जीवनपद्धतिसंग जोडिएको हुँदा काममा प्रभावकारिता ल्याउन सबै पक्षले उत्तिकै जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
नगरपालिकामा यसवर्ष ५ वटा आयोजनाहरु सञ्चालन हुँदैछन् जसमध्ये तोली-पुल्लेतोला ग्रामीण सडक स्तरोन्नतिको काम केही दिनअघि सुरु भैसकेको छ भने बाँकी आयोजना सुरु हुने क्रममा रहेका छन् । रोजगार सेवा केन्द्रमा रहेको रोजगार सूचना व्यवस्थापन प्रणालीबाट बेरोजगार व्यक्तिहरुको सूचीकरण गरी त्यसैका आधारमा रहेको प्राथमिकीकरण सूचीबाट यसपटक कामदार खटाइएको जनाइएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here