भेरीगंगाको रामघाटमा माछा व्यवसाय फस्टाउँदै

0
393

भेरीगंगा, फागुन ३- भेरीगंगा नगरपालिकाको वडा नम्बर १३ रामघाटमा पछिल्लो समयमा माछापालन व्यवसाय फस्टाउँदै गएको छ । पहिलेको समयमा नदी, खोला र प्राकृतिक पोखरीमा पालिने माछा पछिल्लो समयमा व्यावसायिक रुपमा पाल्न थालिएको छ । उत्पादनबाट राम्रो आम्दानी हुन थालेपछि माछापालन व्यवसायमा कृषकको आकर्षण बढ्दै गएको हो ।


रामघाटमा केही वर्ष अगाडिसम्म केही किसानले मात्रै माछापालन गर्दै आएको भए पनि अहिले व्यावसायिक रूपमै माछापालन गर्नेको संख्या बढ्दै गएको छ । माछापालनका लागि भेरीगंगा नगरमै रामघाट उपयुक्त माटो र हावापानीले साथ दिएकाले यसतर्फ युवाको आकर्षण बढेको हो भेरीगंगा वडा नम्बर १३ का कृषक मानसिँह राना बताउनुहुन्छ । भेरीगंगा नगरमै वडा नम्बर ११ र १३ रामघाटमा माछापालन फस्टाएको छ । यो वडा माछापालनका लागि पकेट क्षेत्रका रुपमा परिचति हुदै गएका छन् । बजारमा माछाको माग बढेसँगै माछापालनमा आकर्षण बढ्दै गएको माछा उत्पादक किसानको भनाइ छ । थोरै लगानीमा धेरै आम्दानी हुने भएकाले यो व्यवसायमा आकर्षण बढ्दै गएको कृषक राना बताउनुहुन्छ । अहिले रामघाट क्षेत्रमा दर्जनौ माछा पोखरी रहेका छन् । कृषकहरुले कृषि फर्म स्थापना गरी आफ्नै व्यक्तिगत पोखरीमा माछा पालेर माछाबाट वार्षिक लाखौ बराबरको आम्दानी गर्दै आएका छन् । यहाँका माछाहरु बजारका व्यापारीले खरीद गरेर लैजाने गरेका छन् । माछापालनबाट राम्रो आम्दानी भएका कारण खेतीयोग्य जमीनमा पोखरी बनाई माछापालन व्यवसाय शुरु भएको छ । रामघाट क्षेत्रमा माछापालन व्यवसाय फस्टाउदै गएकोले स्थानीय सरकार र सरकारी निकायले सहयोग गर्नुपर्ने भेरीगंगा वडा नम्बर १३ का वडासदस्य धनबहादुर बुढा बताउनुहुन्छ ।

परम्रागत कृषि उत्पादनको तुलनामा पाँचदेखि १० गुणा बढी उत्पादन तथा आम्दानी हुने भएपछि माछा पालनतर्फ कृषकको आकर्षण बढेको छ । बजारमा भारतबाट ल्याउने माछाको आयात कम गर्न र माछाको उत्पादनले आत्मनिर्भर बनाउन भेरीगंगा क्षेत्रमा व्यवसायीक माछापालन गर्न जरुरी छ ।

 

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here