बुद्धको एटिआर ७२ को सुर्खेतमा सफल टेस्ट फ्लाईट

0
107

सुर्खेत, कार्तिक ३०- विगत पाँच बर्षदेखि एटिआर ४२ (४७ सिट) जहाजमात कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरमा नियमित उडान गर्दै आएको बुद्ध एयरको एटिआर ७२ विमानले बुधबार पहिलोपटक अवतरण गरेको छ । सुर्खेत विमानस्थलमा बुद्ध एयरले बुधबार एटिआर ७२ विमान मार्फत टेस्ट फ्लाईट सम्पन्न गरेको हो । योसंगै काठमाण्डौ–सुर्खेत ७२ सिटे विमान उडानको बाटो खुल्ला भएको छ ।

यही पुुस महिनाबाट बुद्ध एयरको एटिआर ७२ विमानले सुर्खेत–काठमाडौँ उडान भर्ने तालिका समेत सार्वजनिक गरेको छ । जसका लागि भाडा दर साँढे सात हजार कायम गरिएको बुद्ध एयरले विज्ञप्तीमार्फत उल्लेख गरेको छ । सुरुमा १८ सिटबाट सुर्खेत उडान सुरु गरेपश्चात बिगत ५ बर्षदेखि एटिआर ४२ (४७ सिट) जहाजबाट नियमित उडान संचालन गर्दै आएको बुद्ध एयरले सुर्खेत उडान गर्ने यात्रुहरुको माग अनुरुप सिट उपलब्धता न्यून रहेको तथ्यलाई आत्मसाथ गर्दै एटिआर ७२ मार्फत उडान संचालन आवश्यकता महसुस भएको बताएको छ ।

हाल संचालनमा रहेको ४७ सिटे जहाजको उडान संचालन लागत उच्च रहेको र यसको प्रत्यक्ष असर भाडा दरमा परेको थियो । टेस्ट फ्लाईटको रिपोर्ट उडान अनुकूल रहेको अवस्थामा जनवरी २०२३ बाट एटिआर ७२ विमान मार्फत सुर्खेतमा दैनिक दुई (२) उडान संचालन गर्ने बुद्ध एयरको जनाएको छ ।


नेपाल नागरिक उड्डयन प्राधिकरणको सहयोग र सहकार्यमा बुधबार ७२ सिटे विमानको परीक्षण गरिएको हो । एटिआर ७२ विमान मार्फत उडान संचालन गर्दा यात्रुहरुलाई प्रत्यक्ष लाभ पुग्ने र न्यूनतम भाडा दर साँढे सात हजार हुने जनाएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here