टेकेन्द्र बस्याल, नेपालगन्ज बाँके- ३०/३० मिनेटमा आफ्नो रुप र स्वन्दरता फेरिरहने नरैनापुर ६ स्थित सन्तानेश्वर महादेव मन्दिरको पहाडको प्राकृतिक सौन्दर्यता कुनै सुन्दरी भन्दा कम छैन् । एकै छिनमा सिमसिम पानी परेर हराउँछ भने एकैछिनमा बादलले मन्दिर, पहाड ढपक्कै ढाकिदिन्छ । हेर्दाहेर्दै पहाड खुलेर चारैतिर हरियाली, निलो आकाश, सेतो बादलका ढिक्काहरु र चिसो हावा आसपासका रुख घाँसहरु हल्लाउँदै स्वर्गको ठाउँमा आएजस्तो महसुस गराउँछ । प्राकृतिक रङ्ग र रुप फेरिरहने सन्तानेश्वर मन्दिर सबैको नजरमा पहाडी सुन्दरी बन्दै गएको छ । चारैतिर पहाडको स्वरुप ओमः आकारमा देखिने, नेपालको तरार्ई क्षेत्र, भारतीय शहरबस्ती, पहाडहरु, राप्ती नदिको रमणीय दृश्य अवलोकनदेखि बादललै छुन मिल्ने गरि अग्लो पहाडमा रहेको नरैनापुर ६ झण्डहवा स्थित सन्तानेश्वर महादेव मन्दिर अहिले बाँके जिल्लाकै नँया धार्मिक, प्राकृतिक गन्तव्यको रुपमा परिचित बन्दै गएको छ । नेपालगन्जदेखि २८ किलोमिटर पुर्व राप्तीसोनारी वडा नम्बर ७ को सीमा सकिएपछि राप्तीसोनारी ६ सुरु हुन्छ ।

झण्डहवा गाउँबाट ८ किलोमिटर उत्तर जंगलै जगंलको यात्रामा यहाँ पुग्न सकिन्छ । मोटरसाईकलमा ५ किलोमिटर यात्रा गरेर ३ किलोमिटर पैदल यात्रा र अटोरिक्सा, जीपकार ट्याक्टरमा ४ किलोमिटर गाडी यात्रा र बाँकी ४ किलोमिटर एक घण्टा पैदल यात्रामा सन्तानेश्वरी मन्दिर पुगिन्छ । तराईको गर्मीको उकुसमुकस जीवनशैली, कच्ची सडक र पहाड चढ्दाको गर्मी, थकान मन्दिर नपुग्दै चिसो हावा, आँखा अगाडी उड्ने बाँदल र चारैतिरको प्राकृतिक सुन्दरताले शरिरमा उर्जा, उमङ्ग र आनन्दको आभास बनाउँछ । साथी, सहकर्मीसंग हिड्दै गर्दा मन्दिर नपुग्दै अंगालो मारेर जय सन्तानेश्वर महादेव भन्नै बाध्य बनाउँछ । पछिल्ला दिनमा यो मन्दिर दर्शन गर्न दैनिक सँयौ मानिसहरु भारतका विभिन्न स्थान र नेपालका बाँके, बर्दिया, सुर्खेत, दाङ्ग जिल्लाका मानिसहरु पुग्ने गरेका छन् । शनिबार विदाको दिन हजारौ मासिहरु दर्शन गर्न र घुम्न पुग्ने गरेका छन् । सन्तानेश्वर महादेव मन्दिरका पुजारी प्रशान्ति देवकोटाका अनुसार मन्दिर दर्शन गर्न अहिले दैनिक मानिसहरु आवतजावत गर्छन् । यो मन्दिरको चारैतिरको डाँडाहरु ओमः आकारको रहेको छ । मन्दिरको चारैतिर तीन वटा साना खोलाहरु रहेका छन् ।

सन्तानेश्वरीको ईतिहासः
वि.स.१९३५ सालमा यो मन्दिरमा कुनै एक सादुले भण्डा गारेको हुँदा यहाँको नाम झण्डहवा नाम रहेको हो । नरैनापुर लालपुरको भवानीप्रसाद निधी र योगनान्द वेदाश्री गिरीले २०७० माघ २४ गते पक्की मन्दिर निर्माण गरेका हुन् । मन्दिरको चारैतिर ओमः आकारमा डाँडाहरु फैलिएका छन् । मन्दिरको चारैतिर तीन वटा स्थानीय खोला बग्ने स्थानीयले गंगा नदि भन्ने गर्छन् । अहिले मन्दिरको मुल पुजारी महाराज ८६ बर्षीय योगनान्द वेदाश्री गिरी रहेका छन् । सन्तानहरुको ईश्वर भनिएकै हुँदा यस मन्दिरको नाम सन्तानेश्वर रहेको हो । यहाँ दर्शन गरेमा सन्तानहरुको ईश्वर भनेर सन्तानेश्वर नाम रहेको हुँदा यहाँबाट फर्केपछि धेरै दम्पतीहरुको सन्तान उत्पादन भईरहेको बताईन्छ । दोस्रोपटक आफ्नो बच्चा भयो भनेर मानिसहरु महामाराज कहाँ आउँछन् । घरमा, आसपासमा र मन्दिरमा कुनै सामान चोरी भएका सामानहरु पुजा गरेपछि फिर्ता भएको भन्ने विश्वास रहेको छ । विशेष गरि शिवरात्रीमा पुजाआज गरेमा सन्तान प्राप्त हुन्छ । साउनभरिको तीजको समयभर यहाँ महिला दिदिबहिनीहरु पुजापाठ र महादेवको दर्शन गरे मनोकामना पुरा हुनछ भन्ने विश्वास रही आएको छ ।

गाउँपालिकाको सन्तानेश्वरी घुमौ अधियानः
नरैनापुर गाउँपालिकाले २०७८ साउन २ गतेदेखि नरैनापुर भ्रमण बर्ष २०२१ अभियान सुरु गरेको छ । जसमा सन्तानेश्वर महादेव मन्दिर भ्रमणलाई विशेष प्राथामिकता दिएको छ । साउन २ गते शनिबार एक कार्यक्रमको आयोजना गर्दै गाउँपाकिला अध्यक्ष ईश्तियाक अहमद शाहले सन्तानेश्वरी घुमौ अभियानको शुभारम्भ गर्नुभयो । भ्रमण बर्षको उद्घाटनसंगै सन्तानेश्वर मन्दिर पुगेका अध्यक्ष शाहले यसलाई बाँके जिल्लाकै नमुना र विशेष धार्मिक पर्यटकिय स्थलका रुपमा सूरुवात गरिएको जानकारी दिए । हामी यो मन्दिरमा आवाजावत गर्ने पर्यटकका लागि सडक बाटो, खानेपानी, बस्ने जस्ता पुर्वाधार र सुविधाका लागि काम गर्ने बताए । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दलबहादुर बस्नेतले चालू आर्थिक बर्षमा मन्दिरमा आउन सडक बाटो, पिउनृ पानीको व्यवस्था, विद्युतका लागि सोलार बत्ती, खानपिनका लागि होमस्टेका काम सुरु गरिने बताए । गाउँपालिकाको अगुवाई र अग्रसरतामा सन्तानेश्वरी मन्दिरको प्रचार प्रसार, सुविधाहरुको निर्माण सूरु भएको जानकारी दिए । शनिबार पहिलो दिनको सन्तानेश्वरी घुमौ अभियानमा दशौ हजार मानिसको सहभागीता रहेको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here