चुनाव अवधिभर सुर्खेतमा मदिरा विक्रि र सेवन गर्न निषेध

0
86

सुर्खेत, कार्तिक २५ – कार्तिक २५ गते राती १२ बजेदेखि मंसिर ४ को मतदान सम्पन्न नहुँदासम्म सुर्खेत जिल्लामा मदिरा विक्रिवितरण र प्रयोग गर्न बन्देज गरिएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालयमा सुरक्षाकर्मी, उम्मेदवार, राजनैतिक दलहरुको संयुक्त बैठकले चुनाव अवधिसम्म मदिरा निषेध गर्ने निर्णग गरेको हो ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा जिल्लाका क्रियाशिल राजनीतिक दलका प्रमुख, उम्मेदवार, प्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, भयरहित तथा मर्यादित रुपमा सम्पन्न गर्न मदिरा पुर्ण बन्देज गर्ने निर्णय गरेको हो ।
बैठकले निर्वाचन आचारसंहिता, २०७९ को यस जिल्लामा भएको कार्यान्वयनको अवस्था र पालना गर्नुपर्ने थप विषयमा बैठकमा छलफल गरेको थियो । बैठकले कात्तिक २५ गतेदेखि नै लागू हुने गरी निर्वाचन सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन कार्यलाई पूर्ण रुपमा रोक लगाउने पहिलो निर्णय गरेको छ । मदिरा बन्देज निर्णयको कार्यान्वयनमा सहयोग गर्न जिल्लास्थित सबै राजनीतिक दल, उद्योगी, व्यवसायी, व्यापारी, आमसञ्चार माध्यम, सर्वसाधारण लगायत सबैमा अनुरोध गर्ने उल्लेख छ । बैठकले निर्वाचनको मतपरिणाम घोषणा नभएसम्म जिल्लामा मेला, पर्व, जात्रा, महोत्सव, खेलकूद र अन्य मनोरञ्जनसम्बन्धी क्रियाकलापहरु सञ्चालन गर्न रोक लगाउने निर्णय पनि गरेको छ । मंसिर ४ गते मतदान कार्य शुरु हुनु २४ घण्टा अगाडिदेखि ग्याँस सिलिण्डर, पाइप, सकेट, प्रेसर कुकरजस्ता विस्फोटनमा प्रयोग हुनसक्ने सामग्रीहरुको ओसारपसार तथा बिक्रीवितरण नगर्न उद्योगी, व्यवसायी, व्यापारी तथा आम सर्वसाधारणमा अनुरोध गरेको छ ।

मतदान हुने दिन नजिकै आइरहेको हुँदा प्रचारप्रसारलाई मित्रवत र मर्यादित बनाई सच्याउनु पर्ने थप विषयहरुमा सबै राजनीतिक दलहरु गम्भिर भई आचारसंहिता विपरितका कुनै निर्माण कार्य तथा कार्यक्रम नगर्ने प्रतिबद्धता गरिएको छ । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को सन्दर्भमा निर्वाचन प्रचारप्रसारको क्रम तीब्र रुपमा अगाडि बढेकोले निर्वाचनलाई मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि एक्यबद्धता जनाएका छन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here