असोजको बाढीले भेरी–बबई डाइभर्सनमा २२ करोडको क्षती

0
92

सुर्खेत, कार्तिक २४-  गत असोज १८ गतेदेखि २५ गतेसम्म एक साता परेको अविरल बर्षापछि भेरी नदिमा आएको बाढीले राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको भेरी–बबई डाइभर्सन आयोजनामा २२ करोडको क्षती भएको छ । बर्षातपछि भेरी नदिको बाढीले आयोजना अन्तर्गत भेरीगंगाको चिप्लेमा बन्दै गरेको विद्युतीय तथा सिँचाई ड्याम निर्माण स्थलमा करोडौका सामग्री बगाएको, भत्काएको, बिगारेको र पुरेको हो ।

बाढीले करोडौको क्षती पुर्याएपछि निर्माण कार्य ठप्प भएको आयोजनाको काम एक महिनासम्म पनि सुचारु हुन सकेको छैन् । असोज मसान्तमा आएको बाढीपछि भेरी नदिमा बन्दै गरेको विद्युतीय तथा सिँचाई कपर ड्याम निर्माण स्थलमा ढुंगा, बालुवा, माटो र पानीले पूर्ण रुपमा पुरेको छ । बाढीले कपर बाँध निर्माणस्थलमा मेशिन, फलामका डण्डा, सिमेन्ट, फर्माहरु, कटिङ्ग, बेण्डिङ्ग, सर्पोट सामानहरु बगाएको, पुरेको र भाचिँएको निर्माण कम्पनी रमन कन्ट्रक्शनका स्ट्रक्चर ईन्जिनियर हिक्मत लम्साल बताए । बाँध स्थलमा भौतिक संरचना र निर्माणाधीन सामानहरु भाचिँदा, बगाउँदा, टुटफुट, पुरिदा निर्माण कम्पनीलाई २२ करोडसम्म क्षती भएको उनले भने । बाढीको क्षतीले आयोजना निर्माण कार्य दुई महिना पछाडि धकलिएको छ । एक महिनाअघि बाढीले क्षती पुर्याएपनि अहिलेसम्म पुन निर्माण कार्य सूचारु हुन सकेको छैन् । आयोजनाको बाँध निर्माण तथा नियमित काम सूचारु गर्न निर्माण कम्पनीले रोकेको छ ।

असोज अन्तिम साता अनपेक्षित रुपमा आएको बाढीले भेरीको पानी ड्राइभर्सन गर्ने कपर ड्यामका संरचना पुरेको र यो हटाएर काम गर्न अझै समय लाग्ने आयोजनाका सूचना अधिकारी एवम् वरिष्ठ डिभिजनल इन्जिनियर लेखनाथ सुवेदीले बताए । भेरीको पानी लेवल घटेपछि कपर ड्याम सफा गर्नुपर्ने, पानी पम्पिङ्ग गरेर हटाउनुपर्ने, सफाई सुरु भएपछि मात्रै सिभिल निर्माणको काम सुरु हुने उनले भने । असार, साउन र भदौको बाढीले खासै क्षती र काममा अवरोध नगरेपनि असोजमा आएको बाढीले करोडौको क्षती भएको हो । भेरी नदिमा आयोजनाको विद्युतीय तथा सिँचाई ड्याम निर्माण सूरु भएको पाँच बर्षपछि पहिलोपटक क्षती भएको हो ।

भेरी–बबई डाइभर्सन आयोजनाले भेरी नदीबाट ४० घनमिटर प्रति सेकेन्ड पानी बबई नदीमा स्थानान्तरण गर्ने तथा यसबाट ४६.८ मेघावाट बिजुली निकाल्नुका साथै बर्दिया र बाँके जिल्लाका करिब ५१ हजार हेक्टर जमिनमा १२ महिना सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य छ । आयोजनाको पहिलो चरणअन्तर्गत टनेल निर्माण कार्य सम्पन्न भएको छभने अहिले दोश्रो चरण अन्तर्गतको सिभिल संरचनाहरुको निर्माण कार्य भइरहेको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here