जाजरकोट, जेठ १५ – दोषीलाई कडाभन्दा कडा कारबाही र पीडितलाई न्याय दिन माग गर्दै जाजरकोटमा दलित अधिकारकर्मीले थालेको अनसन स्थगित गरिएको छ । बुधबार राती जिल्ला प्रहरी कार्यालय प्रमुख तथा डिएस्पी किशोर कुमार श्रेष्ठलाई पाँच बुँदे ध्यानाकर्षणमुलक ज्ञापनपत्र बुझाएर अनसन स्थगित गरिएको हो ।

दलित अधिकारकर्मी तथा राष्ट्रिय दलित पत्रकार संघ कर्णाली प्रदेशका अध्यक्ष खगेन्द्र सुनारको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय जाजरकोटको गेटमा आधा दर्जन अधिकारकर्मी तीन दिनसम्म अनसन बसेका थिए । बुधबार राती कर्णाली प्रदेशका दलित सांसदको उपस्थितीमा जिल्ला प्रहरी प्रमुख डिएस्पी श्रेष्ठलाई ज्ञापनपत्र बुझाउदै अनसन स्थगित गरिएको संयोजक सुनाले बताए । उनले माग पूरा नभए फेरि अनसन थाल्ने चेतावनी समेत दिए । दोषीलाई कारबाही गर्न, पीडितलाई न्याय दिन, घटनाको निष्पक्ष अनुसन्धान गर्न, छानबिन समितिमा दलित प्रतिनिधिको सहभागिता गराउन र पीडितलाई परिवारलाई उचित राहत तथा क्षतिपूर्ति दिन माग गर्दै प्रहरी प्रमुख श्रेष्ठलाई ध्यानाकर्षण गराइएको छ । प्रहरी प्रमुख श्रेष्ठले माग सम्बोधनका लागि प्रयास गर्ने भन्दै दोषीलाई सजाय दिलाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

रुकुम पश्चिमको सोतीमा विवाहका लागि प्रेमिकालाई भगाउन गएका जाजरकोट रानागाउँका नवराज विकलगायत ६ जनाको कुटेर हत्या भएको थियो । हत्या गरेपनि युवतीका आफन्त तथा वडाध्यक्ष डम्बर मल्ल लगायतले मृत्तकको भेरी नदीमा खसेर ज्यान गएको दाबी गरेका थिए । तर अहिले आरोपितले कुटपिट गरेको स्वीकार गरेका छन भने हत्यामा जिम्मेवार रहेको बताउन थालेका छन । प्रहरीले वडाध्यक्ष मल्लसहित १२ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here