भेरीगंगा, पुष २८-सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ तथा यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०७४ को परिच्छेद ३ को धारा १.१ को उपधारा १.१४ मा नँया सवारी साधनको भन्सार प्रज्ञापन पत्र जारी भएको मितिले १५ दिनभित्रमा दर्ताका लागि आवश्यक कागजात सहित पेस गरि स्थायी नम्बर दर्ता गरिसक्नुपर्ने प्रावधान छ । तोकिएको सो अवधि नाघी दर्ता गर्न पेस गरेमा ऐनको दफा ६.२ (ख) बमोजिम जरिवाना लिएर मात्र दर्ता गर्नुपर्ने प्रावधान छ । तर सुर्खेतको भेरीगंगा नगरकार्यपालिकाले खरिद गरेको दुई वटा एम्बुलेन्स भने खरिद गरेको एक बर्षसम्म विना दर्ता नम्बर संचालनमा रहेको पाएको छ ।

फोटो क्याप्सनः १३ महिनाअघि भेरीगंगा नगरपालिकाले खरिद गरि ल्याएको एम्बुलेन्स ।।

यातयात व्यवस्था विभाग नियम र ट्राफिक प्रहरी नियमअनुसार पनि स्थायी नम्बर प्लेटबिना कुनै पनि सवारी साधन सडकमा गुड्न, व्यवसायीक कारोबार गर्न र रुटपरिमिट नपाउने व्यवस्था रहेपनि नगरपालिकाले १७ लाख ८० हजार मूल्यमा ल्याएका दुई एम्बुलेन्स भने १३ महिनादेखि स्थाीय दर्ता नम्बर नलिएर अवैधानिक रुपमा संचालन हुँदै आएका छन् । २०७६ पुष महिनामा प्रति एम्बुलेन्स झण्डै ९ लाख रकम तिरेर भेरीगंगा नगरकार्यपालिकाको पहलमा भन्सार छुटमा भारतबाट एम्बुलेन्स ल्याएको थियो । विगत १३ महिनादेखि अस्थायी सवारी दर्ता नम्बर राखेर एम्बुलेन्स चालकले नियमित रुपमा अवैधानिक रुपमा संचालन गर्दै आएपनि नगरपालिकाजस्तो स्थानीय सरकारबाटै बैधानिताका लागि पहल हुन सकेको छैन् । १३ महिनाअघि नगरपालिकामा ल्याएको एम्बुलेन्सहरु एउटा स्वास्थ्य चौकी छिन्चु र एउटा स्वास्थ्य चौकी मैनतडामा राखेर संचालनमा रहेको छ । एम्बुलेन्स ल्याएको ३ महिनापछि २०७६ चैत महिनादेखि नगरपालिकाले कोभिड लक्षित गर्दै मासिक १५,५०० तलव र कुल आम्दानीको १० प्रतिशत कमिशनमा दुई एम्बुलेन्स चालक नियुक्ति गरिएको छ । १० महिनादेखि अस्थायी दर्ता नम्बरबाट एम्बुलेन्स चलाउँदा आफूहरु ट्राफिक प्रहरीबाट सास्ती भोग्दै आएको एम्बुलेन्स चालक प्रकाश खत्रीले बताउनुभयो । ‘अहिलेसम्म २ पटक ट्राफिकले एम्बुलेन्स नियन्त्रणमा राखिसक्यो, मेरो लाईसेन्स ३ पटक लगिसक्यो,’ खत्रीले भन्नुभयो, ‘स्थायी दर्ता नम्बर नहुँदा सवारी दुर्घटना वा कुनै घटना भए म आफै कानुनी जोखिममा छु ।’ अवैधानिक रुपमा भेरीगंगाबाट बिरामी लिएर नेपालगन्ज, काठमाण्डौ र बिरेन्द्रनगर पुग्ने यी एम्बुलेन्सले ट्राफिकले पक्राउ गरेपछि प्रत्येकपटक एक हजार रुपैँया तिर्दै आएका छन् । भेरीगंगा नगरस्वास्थ्य शाखा संयोजक राजेश बुढाले एम्बुलेन्स कसरी, किन र कुन प्रयोजनका लागि ल्याएको हो, अव कसरी संचालन गर्ने विषयमा स्वास्थ्य शाखासंग कुनै समन्वय नभएको बताउनुभयो । एम्बुलेन्स ल्याएको ३ महिनासम्म नगरमै त्यसै थन्किएपछि कोभिडको महामारीमा स्वास्थ्य शाखासंगको समन्वयमा संचालनमा आएको तर दर्ता किन नभएको विषयमा अनविज्ञता प्रकट गर्नुभयो । यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०७४ को अस्थायी दर्तासम्बन्धी व्यवस्था बमोजिम कुनै पनि सवारी साधन कुनै निश्चित समय एवं प्रयोजनका लागि अस्थायी दर्ता गर्नुपर्ने भएमा कुनै सवारी साधन कुनै परियोजनामा निश्चित अवधिका लागि सञ्चालन हुने र अवधि समाप्त भएपछि सो सवारी साधन सम्बन्धित मुलुकमै फिर्ता लिनुपर्ने व्यवस्था छ । प्रमुख प्रशासकिय अधिकृत जगतबहादुर बस्नेतले एम्बुलेन्सका स्थायी दर्ता नम्बर ल्याउन प्रक्रिया सूरु भएको प्रतिक्रिया दिनुभयो । यातयात कार्यालय कर्णाली प्रदेश सुर्खेतमा काम भैईरहको जानकारी दिनुभयो ।

एम्बुलेन्स खरिद गरेको १३ महिनासम्म स्थायी दर्ता नम्बर नआउनुको विषयमा भने नगरकार्यपालिका पदाधिकारी अनविज्ञता जनाउँदै आएका छन् । कानुनी रुपमा भन्सार पास गराएर सवारी सम्बन्धित ठाउँमा ल्याएको १५ दिनमा स्थायी दर्ता नम्बर लिईसक्नु पर्छ । अस्थायी नम्बर निश्चित समय अवधिका लागि प्रयोग गर्न मिल्ने र त्यसपछि जुनदेशबाट ल्याएको हो त्यही फिर्ता पठाउनुपर्ने प्रावधान छ । १३ महिना अघि नगरमा आएका दुई एम्बुलेन्सले भने विगत १० महिनादेखि व्यवसायीक र सेवामुखी रुपमा बिरामी बोक्दै आएका छन् ।

 

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here