बर्दिया, कार्तिक २४- बर्दियाको बाँसगढी क्षेत्रमा प्रहरीले लोकल रक्सी नियन्त्रण अभियान थालेको छ । बजार तथा गाँउहरुमा सजिलै पाईने लोकल रक्सी सेवनले अवैध गतिविधि बढ्ने गरेकाले ईलाका प्रहरी कार्यालय बाँसगढीले लोकल रक्सी नियन्त्रण अभियान थालेको हो ।
लोकल रक्सी नियन्त्रण अभियान अन्तरगत बाँसगढी, ककौरा, लक्ष्मणा, माछागढ र कतर्निया बजार क्षेत्रका होटेल तथा भट्टी पसलहरुमा बेच्नलाई तयार पारि राखिएको झण्डै २ सय लिटर लोकल रक्सी बरामद गरि सोमबार नष्ट गरिएको छ । बर्दियाको बाँसगढी बजारका विभिन्न पसलहरुबाट १ सय ५० लिटर, माछागढ क्षेत्रबाट ४५ लिटर अवैध लोकल रक्सी बरामद गरिएको थियो । बरामद गरिएको लोकल रक्सी प्रहरी निरिक्षक बिरेन्द्र सिङ थापा, बाँसगढी नगरपालिका प्रतिनिधी, पत्रकार लगायतको रोहवरमा प्रहरी कार्यालयमा नष्ट गरिएको हो । सबै ठाँउमा सहज र सस्तो मुल्यमा पाईने लोकल रक्सी सेवनले विभिन्न खाले अवैध गतिविधि धेरै हुने भएकाले लोकल रक्सी नियन्त्रण गर्न थालिएको ईलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीका प्रहरी निरिक्षक बिरेन्द्र सिङ थापालले बताउनु भयो ।
‘लोकल रक्सी बेचविखन गर्नु अवैधानिक काम हो उहाले भन्नु भयो– लोकल रक्सी सेवनले समाजमा अशान्ति हुने, परिवारमा कलह निम्त्याउने, घरेलु हिंसा, सवारी दुर्घटना लगायतका अवैध गतिविधि बढ्ने गर्छन ।’ बर्दियाको बाँसगढी क्षेत्रका सबै बजार र गाँउहरुमा लोकल रक्सी बेचविखनमा रोक लगाउन चेकजाँचमा तिव्रता दिर्दै लोकल रक्सी बेचबिखन पुर्ण निषेध गरिने प्रहरी निरिक्षक थापाले बताउनु भयो ।