नरैनापुर, मंसिर २६- बाँकेको नरैनापुर गाउँपालिकामा प्रदशकै ठुलो गौशाला निर्माणको प्रक्रिया सुरु भएको छ । झण्डै सात करोड लागतमा२० बिगाह क्षेत्रफलमा निर्माण हुने गौशालाको आईतबार एक कार्यक्रमका बिच निर्माण प्रकिया सुरु भएको छ । गाउपालिका अध्यक्ष ईश्तियाक अहमद शाहले एक कार्यक्रमका बिच गाउँपालिकाको वडा नम्बर ५ मोतिपुरमा बन्ने गौशालाको शिलान्यास गर्नु भएको हो ।

सात करोडको लागतमा बन्ने गौशालाको निर्माण प्रकिया शिलान्याससंगै सुरुवात भएको छ। निर्माण कम्पनी प्रतिष्ठा/मंगलदिप जेवि काठमाण्डौले ६ करोड ७५ लाख ५५ हजार १०४ रुपैयामा गौशाला निर्माण सुरुवात गरेको हो । गौशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सहितको प्रस्तावना जिल्ला समन्वय समिति बाँकेले गाउँपालिकालाई हस्तान्तरण गरेसंगै निर्माण सुरु भएको नरैनापुरका प्रमुख प्रशासकिय अधिकृत दलबहादुर बस्नेतले बताउनुभयो ।

जिल्ला समन्वय समितिका संयोजक अजय कुमार श्रीवास्तव र जिल्ला समन्वय अधिकारी विरेन्द्रदेव भारतीले गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहलाई प्रस्तावना हस्तान्तरण गर्नुभएको थियोे । योसंगै नरैनापुर गाउँपालिकाले अब गौशाला निर्माणको काम अघि बढेको बस्नेतले भन्नुभयो । निर्माण सुरु भएको गौशाला लुम्बिनी प्रदेशमै ठुलो भएको अध्यक्ष शाहले बताउनुभयो । गौशालामा जिल्लाका सबै पालिकाबाट छाडा पशुचौपायहरु संरक्षण र रेखदेख गरिने उहाले भन्नुभयो । निर्माण कम्पनीलाई समयमा गौशाला निर्माण सक्न शाहले सुझाव दिनुभयो ।

२० बिगाहा क्षेत्रफलमा यो गौशाला बनेसंगै जिल्लामा छाडा पशुचौपाया व्यवस्थापन गर्न निकै सहज हुनेछ ।जिल्लामा छाडा पशुचौपाया गम्भीर समस्याका रुपमा देखिएपछि जिल्ला समन्वय समितिले गौशाला निर्माणका लागि ७ करोड रुपैयाँ छुट्टाएको गाउपालिकाका लेखा प्रमुख प्रकाश अधिकारीले जानकारी दिनभयो । नेपालगन्जपछि दोस्रो गौशाला नरैनापुरमा बन्न सुरु भएको हो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here