गुर्भाकोट, फागुन ६- गुर्भाकोट नगरपालिकास्तरीय एक वडा एक पत्रकार तालिम बिहिबारबाट सूरु भएको छ । नगरपालिकाका १४ वडाबाट सहभागीता हुँदै नगरपालिकास्तरीय पाँच दिने पत्रकारिता तालिम संचालनमा आएको हो । तालिमको उद्घाटन गुर्भाकोट नगरपालिकाका सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर ८ का वडाअध्यक्ष चित्रबहादुर रेग्मीले गर्नुभयो ।


तालिमको उद्घाटन गर्दै अध्यक्ष रेग्मीले पुर्वी सुर्खेतमा संचारमाध्यमको आवश्यकता रहेको र नगरक्षेत्रमा भएका विकास निर्माण र कमीकमजोरीहरु बाहिर आउन जरुरी रहेको बताउनुभयो । नगर र वडाक्षेत्रमा जनताका पक्षमा धेरै काम भएपनि बाहिर आउन नसकेको भन्दै पाँच दिने एक वडा एक पत्रकारिता तालिमले वडास्तरमा दक्ष जनशक्ति उत्पादन हुनेमा विश्वास व्यक्त गर्नुभयो । नगरकार्यपालिका र वडाले वडास्तर, नगरस्तरमा उत्पादित पत्रकार र संचारमाध्यमहरुसंग सहकार्य र सहयोग गर्न आफूहरु तत्पर रहेको प्रतिबद्धता जनाउनुभयो । तालिम उद्घाटनमा बोल्दै सहभागी वडा नम्बर ७ का वडाअध्यक्ष बिर्खबहादुर सार्कीले स्थानीय सरकारको विकासका लागि संचारमाध्यमको आवश्यकता रहेको भन्दै पाँच दिने तालिमको शुभकामना दिनुभयो । वडानम्बर १२ का वडाअध्यक्ष पेमप्रकाश वलीले पत्रकारिता र पत्रकार पेशा समाजको सम्मानित पेशा भएकोले वडा, नगरको विकासमा सहयोग गर्न आग्रह गर्नुभयो । ईलाका प्रहरी कार्यालय मेहेलकुनाका इन्चार्ज कृष्णबहादुर खड्काले पत्रकार राज्यको चौथो अंग भएको भन्दै प्रहरी र पत्रकार स्थानीय स्तरमा समाजिक अपराध र घटना नियन्त्रण तथा सचेतनामा सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले तालिमबाट उत्पादित जनशक्ति र संचारमाध्यमसंग आफूहरु सहकार्य गर्न तयार रहेको भन्नुभयो । तालिमको उद्घाटनमा पत्रकार तथा प्रशिक्षक जेवि सुनार र गुर्भाकोट नगरपालिका मेयरका सल्लाहकार गोविन्द ओलीले तालिममा सहभागी १४ वडाका प्रशिक्षार्थीलाई सफलताको शुभकामना दिदै दक्ष र पेशागत पत्रकार बन्न सुझाव दिनुभयो ।

गुर्भाकोट नगरपालिकाको सहयोग र बिजि मिडिया गु्रपको आयोजनामा पाँच दिने एक वडा एक पत्रकार उत्पादन तालिम सूरु भएको हो । तालिममा १४ वडाका प्रशिक्षार्थीको सहभागीता रहेको छ । तालिम फागुन १० गते समापन हुनेछ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here