भेरीगंगा, बैशाख २३ – कर्णाली प्रदेशका विभिन्न जिल्लामा घरभई देशका अन्य प्रदेशमा अलपत्र परेका २८ हजार बढी कर्णालीबासी लकडाउनको समयमा कर्णाली प्रदेशमा प्रवेश गरेका छन् । देशका विभिन्न प्रदेशबाट पैदलयात्रा र प्रदेश सरकारको पहलमा उद्धार गरि प्रदेश नम्बर ५ को बाँके जिल्ला हुँदै बबईबाट २८ हजार ७ सय जना प्रवेश गरेका छन् ।
सुर्खेतको भेरीगंगा नगरपालिकासंग जोडिएको बाँके, बर्दियाको सीमा बबई हुँदै कर्णाली प्रदेशमा लकडाउनको समयमा २८ हजार ७ सय जना प्रवेश गरेको भेरीगंगा नगरपालिकाका उपमयेर रेणु आचार्यले जानकारी दिनुभयो । भेरीगंगा नगरपालिकाले बबईबाट कर्णालीमा प्रवेश गरेका कर्णालीबासीको तथ्याक अनुसार २८ हजार बढी लकडाउनमा प्रवेश गरेको जानकारी दिनुभयो । यसरी प्रवेश गर्नेमा कर्णाली प्रदेशका १० जिल्लाका सर्वसाधारण रहेका छन् । भारतबाट नेपाल प्रवेश गरि नेपालगन्जको सीमा क्षेत्रको क्वारेन्टाईनमा बसेका, कैलालीको क्वारेन्टाईनमा बसेका देखि कर्णालीका स्थानीय निकाय, प्रदेश सरकार, संघीय सरकारका मन्त्री र सासंदले उद्धार गरि पठाएका कर्णालीबासी रहेका छन् । यसरी प्रवेश गर्नेहरुमा बाँकेको नेपालगन्ज, कोहलपुर रत्नराजमार्ग बबई हुँदै भेरीगंगाबाट कर्णालीमा प्रवेश गरेका हुन् । लकडाउनको समयमा बबईसम्म आएर रोकिएकाहरुबाट नाराबाजी र हुलदंगा हुने स्थिती देखिएपछि भेरीगंगा नगरपालिकाले कर्णाली प्रदेशमा प्रवेश गरेकाहरुलाई नगरका गाडीमा नगरपालिकाको सीमा कटाएको थियो । प्रदेश ५ को बाँके हुँदै कर्णाली प्रदेशमा प्रवेश गर्नेहरु अधिकाश सुर्खेत, कालीकोट, जुम्ला, मुगु, दैलेख, जाजरकोट, डोल्पा, रुकुम पश्चिम र सल्यानका रहेका छन् ।
प्रदेश नम्बर ५ को दाङ्ग जिल्लाको तुल्सिपुर कपुरकोट, कालिमाटी, पुर्वी रुकुमबाट जाजरकोट र पश्चिम रुकुम प्रवेश गर्ने कर्णाली प्रदेशको तथ्याक भने पत्ता लाग्न सकेको छैन् । यस्तै सुुदुरपश्चिम प्रदेशका नाकाबाट कर्णाली प्रदेशको सुर्खेत, दैलेख कालिकोट, जुम्ला, मुगुमा प्रवेश गरेका कर्णालीबासीको तथ्याक समेत स्थानीय सरकार र कर्णाली प्रदेशसंग छैन् ।