डुडुवा, जेठ २४- बाँकेको डुडुवा गाउँपालिकाले आर्थिक वर्ष २०७७।०७८ को निति तथा कार्यक्रम र बजेटको तयारी शुरु गरेको छ । गाउँपालिकाको वार्षिक बजेट तर्जुमाको काम शुरु भएको हो ।
गाउँपालिकाको बजेट तथा कार्यक्रम तर्जुमा दिग्दर्शन २०७६ अनुसार र फर्मेटमा वडा तथा बस्तीस्तरिय योजना तथा कार्यक्रम छनौट गर्नका लागि वडा कार्यालयलाई पत्राचार गरिएको छ । संघिय सरकारबाट स्थानीय तहका लागि बजेट सिलिङ आएपछि अहिले वडास्तरीय योजना छनौट प्रक्रिया सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्यायले बताउनुभयो । स्थानीय तहले कोरोना भाइरस (कोभिड १९)को असरबाट उत्पन्न समस्या तथा आवश्यकताको पहिचान गरि सोही आधारमा नीति, कार्यक्रम र बजेटलाई प्राथमिकता निर्धारण बजेट बनाइने प्रमुख प्रशासकिय अधिकृत उपाध्यायले बताउनुभयो ।
समुदायमा कोभिड १९ ले पारेको समस्याको समाधान र शिक्षा, स्वास्थ्य, कृषि, स्वरोजगार, विपत व्यवस्थापन लगायतका क्षेत्रमा विशेष कार्यक्रमका योजना यस वर्ष निति तथा कार्यक्रम र बजेट प्राथमिकता दिइने गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । वडा कार्यालयलाई ५ दिनभित्र बस्तीस्तरको योजना छनौट गरि पालिका कार्यालयमा पेश गर्न निर्देशन गरिएको छ ।