सुर्खेत, भदौ १३ । नेपालमा सक्रिय रहेको मनसुन मत्थर हुन अझै एक साता लाग्ने भएको छ । नेपालको सिमानामै रहेको न्यून चापीय रेखा तल नझरेसम्म मौसम सुधार हुने अवस्था नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
अगस्ट महिनाभर र सेप्टेम्बरको पहिलो सातासम्म पनि यो वर्षको मनसुन सक्रिय नै रहने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन । उनकाअनुसार शनिबारसम्म तराई केन्द्रित रहेको मनसुनी वर्षा अब नेपालको पूर्वी भेग र सुदूरपश्चिम भेगमा थप सक्रिय बनेको छ । जसअनुसार अबको दुई दिन प्रदेश १ र सुदूरपश्चिम प्रदेशका विभिन्न भेगमा भारी वर्षा हुने आँकलन गरिएको छ ।
तराई छोएका जिल्लामा पनि वर्षा हुँदै रोकिंदै गरेर मनसुनले आफ्नो सक्रियता जनाउने भएको छ । साथै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली भेगका पहाडी इलाकाको केही स्थानमा पनि भारी वर्षा हुने सम्भावना रहेको छ । अबको एक सातापछि मात्र मौसममा हल्का सुधार हुँदै जाने अनुमान गरिएको छ ।