गुर्भाकोट, चैत १२- राष्ट्रिय भुमि आयोग सुर्खेतले गुर्भाकोट नगरपालिकासंगको समन्वयमा नगरको वडा नम्बर ८ मा विगत ४५ बर्षदेखि जग्गा जोतभोग गरि लालपुर्जा नभएका १२८ परिवारलाई आईतबार स्थायी लालपुर्जा वितरण गरेको छ । आयोग र नगरपालिकाको आयोजनामा मेहेलकुनाको सिटिहलमा एक कार्यक्रमको आयोजना गरि भूमि आयोगद्वारा तयार गरिएका १२८ जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरिएको हो ।


४५ देखि ५० बर्षदेखि बसोबास गरि जग्गा भोगचलन गरि पनि स्थायी पुर्जा नभएका १४८ जनाको पुर्जा तयार भएकोमा आईतबार १२८ जनाको वितरण गरिएको गुर्भाकोट नगर प्रमुख हस्त पुनले बताउनुभयो । आईतबार नगर प्रमुख तथा पुर्जा वितरणका सभापति हस्त पुन, प्रदेशसभा सांसद खड्गप्रसाद पोखरेल र राष्ट्रिय भुमि आयोग सुर्खेत अध्यक्ष श्रीधर पौडेलले लालपुर्जा वितरण गर्नुभएको थियो । नगरपालिकाको आर्थिक समन्वय, जनशक्ति व्यवस्थापन र स्थानीय सहजीकरणमा दोस्रो चरणको लालपु्र्जा वितरण भएको भन्दै मेयर पुनले छिटै नै तेस्रो चरणमा लालपुर्जा वितरण हुने बताउनुभयो । दोस्रो चरणको अव्यवस्थित जग्गाको लालपुर्जा वितरण कार्यक्रम वडा नम्बर ८ बाट सूरु भएको भन्दै पुनले अव क्रमशः १४ वडाका अव्यवस्थित, बसोबास गरेका, भोगचलन गरेर पुर्जा नभएका जग्गाका पुर्जा तयार हुने दावी गरे । जग्गा जोतखन, भोगचलन र बसोबास गरेको ४५ बर्षपछि बुवाको नाममा रहेको लालपुर्जा आज पाउन सफल भएको गुर्भाकोट ८ का ७४ बर्षीय नरबहादुर घर्तीले बताउनुभयो ।

ढिलै भएपनि बुवा बुद्वे घर्तीको नाममा लालपुर्जा आएको भन्दै उहाँले नगर र भुमि आयोगलाई धन्यवाद दिनुभयो । यसअघि गत २०७८ चैत २५ गते गुर्भाकोटमा ३४ जनालाई लालपुर्जा वितरण गरिएको थियो । लालपुर्जा वितरण कार्यक्रममा प्रमुख अतिथि रहेका प्रदेश सभा सांसद पोखरेलले आयोगले नेपालमै पहिलोपटक लालपुर्जा वितरण तयारी सुर्खेत जिल्ला र गुर्भाकोट गरेको स्मरण गर्दै यो कार्यमा कांग्रेस उपसभापति पुर्णबहादुर खड्का, आयोग जिल्ला अध्यक्ष श्रीधर पौडेल र नगरकार्यपालिकाको विशेष सहयोग गरेको बताउनुभयो । सुर्खेत क्षेत्र नम्बर १ का पालिकामा रहेको जग्गा किताकाँट, नाँपजाँच गरि लालपुर्जा वितरणका समस्या समाधानका लागि आफ्नोतर्फबाट सहयोग र साथ रहने भन्दै बाँकी लालपुर्जा वितरण समस्या समाधान गर्न सरोकार निकायलाई सुझाव दिनुभयो ।


राष्ट्रिय भुमी आयोग सुर्खेत अध्यक्ष श्रीधर पौडेलले गुर्भाकोटमा दोस्रो चरणमा आज १२८ जनाको लालपुर्जा वितरण भएको भन्दै अझै तेस्रो चरणमा बाँकी जग्गाधनीको लालपुर्जा बैशाख महिलामा वितरण हुने बताउनुभयो । वडामा भएका जग्गा विवाद, मालपोत र नापीमा जनशक्ति अभाव, कर्मचारी समस्या, तीन तहको निर्वाचनका कारण लालपुर्जा तयार गरेर पनि वितरणमा ढिला भएको भन्दै अव सुर्खेतका सबै पालिका र कोटमाँझखर्क अन्र्तगतका बसोबासीलाई स्थायी लालपुर्जा वितरण गरिने बताउनुभयो । कार्यक्रममा गुर्भाकोट नगरपालिका उपमेयर मैना विकले लालपुर्जा लिनका लागि जग्गाधनीलाई राज्यको कर महंगो भएको भन्दै कम वा निशूल्क गर्न आग्रह गर्नुभयो । गरिव, विपन्न, दलित, भुमिहिनले ब्याज र जग्गा समेत विक्रि गरेर लालपुर्जाको कर तिरेको स्मरण गराउनुभयो । लालपुर्जा वितरण गर्न बाँकी जग्गाधनीको पुर्जा निर्माण तयारी सक्न कित्ताकाँट काम छिटै सक्ने उहाँले बताउनुभयो । कोटमाझखर्क अन्तर्गतका भेरीगंगाका सबै वडाका लालपुर्जाको किताकाटका लागि छिटै कर्मचारी परिचालन गरिने उहाँको भनाई थियो ।


पुर्जा वितरणमा गुर्भाकोट नगरपालिकाका वडाअध्यक्ष, वर्तमान वडाअध्यक्ष, जनप्रतिनिधीसंगै राजनैतिकका दलका प्रतिनिधी, कर्मचारी, सरोकार निकाय र सर्वसाधरणको सहभागीता रहेको थियो । २०७८ चैत २५ गते भेरीगंगा नगरपालिका र गुर्भाकोट नगरपालिकामा राष्ट्रिय भूमी आयोग सुर्खेतले कोटमाँझखर्क अन्तर्गत पहिलो चरणमा वितरण गरेको थियो । आयोगले वितरण गरका सबै लालपुर्जाले कानुनी मान्यता पाई नामसारी, बैकिङ्ग कारोवार, धितो कायम, रोक्का र हक हस्तान्तरण गर्न योग्य भएको बताएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here