४० अर्ब लागतमा बन्ने भेरीगंगा उपत्यका नमुना शहर आयोजना कार्यालयको उद्घाटन

0
138

गुर्भाकोट, बैशाख ८ -नेपालमै पहिलो पटक र पहिलो अत्याधुनिक, सुविधासम्पन्न र विकसित देशको शहरीकरणको मापदण्ड अनुसार निर्माण हुने भेरीगंगा उपत्यका नमुना आधुनिक शहर आयोजना कार्यालयको शुक्रबार उद्घाटन गरिएको छ । गुर्भाकोट, लेकबेशी र भेरीगंगा नगरपालिका अन्तर्गत भेरी नदिको आसपास समेटेर बन्ने भेरीगंगा उपत्यका नमुना आधुनिक शहर आयोजना कार्यालय गुर्भाकोट मेहलकुनाको उपप्रधानमन्त्री, रक्षा, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पूर्णबहादुर खड्काले उद्घाटन गर्नुभयो । उपप्रधानमन्त्री खड्काले कार्यालयको रिबन काटेर उद्घाटन गरेसंगै शुक्रबारबाट आयोजनाले शहरीकरणको कार्यको सूरुवात गरेको छ ।

आयोजना कार्यालय उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले २० वर्षपछि भेरी किनारमा नमूनाको आधुनिक निर्माण सम्पन्न गरेर नयाँ पुस्तालाई नासोका रूपमा सुम्पने बताउनुभयो । उद्घघाटनमा उपप्रधानमन्त्री खड्काले सरकारले आर्थिक वर्ष ०६८÷०६९ को नीति तथा कार्यक्रममा भेरीगंगा उपत्यकामा नमुनाको आधुनिक शहर निर्माणको घोषणा गरेपनि झण्डै १० वर्षपछि आयोजना कार्यालय स्थापना गरिएको बताउनुभयो । भेरीगंगा उपत्यका नमूनाको आधुनिक शहरको गुरूयोजना निर्माणको काम अघि बढिरहेको बताउँदै उहाँले गुरूयोजना अनुसार तीन तहका सरकारले भेरीगंगा उपत्यकामा आधुनिक शहर बनाइने बताए । उनले नयाँ शहरमा सबै किसिमका सुविधा नागरिकहरूलाई उपलब्ध गराइने भन्नुभयो । भेरी किनारमा निर्माण हुन लागेको नमूनाको आधुनिक शहरका लागि बजेटको अभाव नहुने भन्दै आधुनिक शहरका लागि स्वदेशी मात्रै होइन्, विदेशबाट पनि स्रोत जुटाउँछौं, उहाँले भन्नुभयो ,बजेट अभावका कारण आधुनिक शहर निर्माणको काम रोकिदैन् ।


भौतिक पूर्वाधार शहरी विकास मन्त्रालयका सहसचिव एकराज अधिकारीले भेरीगंगा उपत्यका नमूनाको आधुनिक शहरको गुरूयोजना निर्माण अन्तिम चरणमा रहेको बताउनुभयो । उहाँले २१०० सालभित्रमा आधुनिक शहर निर्माणका कामहरू सम्पन्न हुने भन्नुभयो । नेपालमा बन्दै गरेका नयाँ शहर मध्ये भेरीगंगा नमूनाको शहर ११ ओैं शहर अधिकारीले भन्नुभयो । अरू १० वटा नयाँ शहरको कार्यालय स्थापना गरेर काम गरिरहेका छौं, नयाँ शहरको ११ ओैं कार्यालय स्थापना गरेर ओैपचारिक काम सुरू गरेका उहाँको भनाई थियो । नयाँ शहर योजनाले भेरीगंगा, गुर्भाकोट र लेकवेशी नगरपालिकालाई समेट्ने छ । भेरीगंगा उपत्यका नमूनाको आधुनिक शहर कार्यालयका निमित्त आयोजना प्रमुख रामकृष्ण आचार्यका अनुसार ४० अर्व हाराहारीको लागतमा नयाँ शहर बन्नेछ ।

कार्यालय उद्घाटन कार्यक्रममा शहरी विकास तथा भवन निर्माण विभागका प्रमुख, कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेल, लेकबेशी नगरपालिकाका मेयर उमेशकुमार पौडेल, गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुन लगाउतकोे उपस्थिती रहेको थियो ।

कार्यालय उद्घाटनका सभापति गुर्भाकोटका मेयर पुनले भेरीगंगा नमुना शहर निर्माणका लागि स्थानीय तहमा हुने हरेक समस्या समाधानका लागि प्रतिबद्ध रहेको बताउनुभयो । आयोजना कार्यालयका लागि नगरपालिकाले निशूल्क जग्गा उपलब्ध गराउने उहाँको भनाई थियो । कार्यक्रममा सँयौ विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागीता रहेको थियो ।

 

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here