१५ बर्षसम्म बनेन् मैनतडा लिफ्ट खानेपानी आयोजना

0
530

सुर्खेत, पुष ८ -साविक मैनतडा गाविसका वडाहरुमा शुद्ध पिउने पानी घरघरमा पुर्याउने उद्धेश्यले १५ बर्षअघि निर्माण सूरु भएको मैनतडा खानेपानी अलपत्र परेको छ । २०६५ सालमा गुमीबाट लिफ्ट गरेर मैनतडाको शान्तिपुरमा ड्याममा पानी जम्मा गरि भेरीगंगाका वडा नम्बर ६,८ र ९ वडामा घरघरमा पानी पुर्याउने योजना १५ बर्षसम्म सम्पन्न हुन सकेको छैन् ।


१५ बर्षअघिदेखि उपभोक्ता समितिबाट निर्माण सूरु भएको मैनतडा खानेपानी आयोजना विगत पाँच बर्षदेखि वेवारिसे बनेको छ । १५ बर्षअघि नै शुद्ध पिउने पानी घरघरमा आउने आशामा भेरीगंगा वडा नम्बर ९ का झण्डै ४५० घरधुरीले एक÷एक हजारका दरले रकम जम्मा गरेका थिए । मैनतडाको बृह्त खानेपानी आयोजना भनेर काम सूरु गरेपनि अहिलेसम्म काम पूरा नहुँदा नँया योजना माग गर्न पनि गाहे भएको वडासदस्य ईश्वर पोखरेलले बताए । खानेपानी आयोजना सरकारी कार्यालय र निर्माण गर्ने उपभोक्ता समितिको लापरवाही र ढिलासुस्तीले मैनतडाबासी र विशेष गरि जहरेबजारबासी बर्षौदेखि पिउने पानीबाट समस्या झेल्दै आएको उनले भने । खानेपानी सिचाई उर्जा विकास निर्देशनालय कर्णाली प्रदेशले हालसम्म यो आयोजनामा चार करोड बढी रकम खर्च गरेको छ ।

मैनतडा खानेपानी आयोजनाका लागि भेरी नदि पारी डिपबोरिङ्ग, ट्याकी निर्माण, मोटर जडान, मिटर ट्रान्समिटर जडान, मुख्य पाईपलाईन र शाखा पाईपलाईन विस्तार भएपनि पानी पुर्याउन नसकिएको उपभोक्ता समिति अध्यक्ष गंगाबहादुर बिसीले बताए । निर्माण भएको केही महिना शान्तिपुरमा रहेको पानी ट्याकी र जहरेसम्म पानी पुर्याउन सकिएपनि खानेपानी घरघरमा पठाउन नसकिएको उनले भने । अहिलेसम्म पिउने पानीका लागि समितिले ४५० बढीबाट रकम संकलन गरेको छ । यो आयोजनाबाट छ सय घुरधुरीले पिउने पानी पाउने लक्ष्य लिएको थियो ।


खानेपानी आयोजना १५ बर्षसम्म मर्मतसम्भार, सूचारु र निगरानी नगर्दा आयोजना अलपत्र र जीर्ण बनेको छ । खानेपानी सिचाई उर्जा विकास निर्देशनालय कर्णाली प्रदेशका ईन्जिनियर गोपालप्रसाद उपाध्यायले अहिलेसम्म ८० प्रतिशत काम सम्पन्न भएको र चार करोड बढी लगानी भैईसकेको बताए । खानेपानीका लागि मुख्य लाईन, शाखा लाईन विस्तार, दुई लाख लिटर क्षमताको शान्तिपुरमा रिजर्व ट्याकी निर्माण भएको उनले भने । बर्षात, भेरीबबई ड्राईभर्सन आयोजनाको प्रभावित क्षेत्र, उपभोक्ता समितिको सुस्तता र बजेटका कारण काममा ढिला भएको कार्यालयको दावी छ । खानेपानी सिचाई उर्जा विकास निर्देशनालयका प्रमुख श्रीधर भट्टराईले उपभोक्ता समिति र स्थानीयबासीले सक्रियता देखाए चालू बर्षको असारसम्म खानेपानी विस्तार हुन सक्ने बताए । चालू बर्षमा पनि खानेपानी निर्माणका लागि बजेट आएको र उपभोक्ता समिति, जनप्रतिनिधीले चासो देखाएमा योजना सफल हुने उनले भने । मैनतडा खानेपानी आयोजनामा साँढे ६ करोड लगानी लाग्ने अनुमान छ । १५ बर्षअघि निर्माण भएको आयोजनामा पाईप हराएको, चोरी भएको, ट्याकी, भवन जीर्ण भएको, मिटर, मोटर जलेका कारण आयोजना सफल नहुने स्थानीयको भनाई छ ।


स्थानीयले आयोजना सफल नहुने भए त्यही अनुसार काम रोक्न र अन्य विकल्प खोज्न सुझाव दिएका छन् । जहरेबजारमा र भेरीगंगा ९ मा खानेपानीका लागि स्थानीय सरकार विस्तारपछि २४ वटा बोरिङ्गपम्प जडान गरि खानेपानीको समस्या कम गरिएको छ । मैनतडा खानेपानी आयोजना सफल नहुँदा जहरेबजार क्षेत्रका व्यापारी, व्यवसायी र वडाबासीले बर्षनी पिउने पानीको समस्या झेल्दै आएका छन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here