सुर्खेत, पुष ४ -सम्झौता म्याद सकिएको दुई बर्ष पुग्दा पनि जहरे–गुमी जोड्ने भेरी नदिमाथिको पक्की पुल निर्माण आधा मात्रै काम सम्पन्न भएको छ । २०७७ पुष २४ गतेसम्म निर्माण सक्ने सम्झौता भएको पुलको दुई बर्ष ढिला हुँदा पनि ६५ प्रतिशत मात्रै काम पूरा भएको हो ।
पुल आयोजना विभाग कार्यालय सेक्टर नम्बर ३ नेपालगन्ज र निर्माण कम्पनी आशिष चन्द्र एण्ड बसन्त जेभि बिच २०७५ असार २४ गते पुल निर्माणको सम्झौता भएको थियो । निर्माण कम्पनी आशिष चन्द्र एण्ड बसन्त जेभिका ईन्जिनियर प्रदीप पौडेले अहिलेसम्म ६५ प्रतिशत बढी काम सम्पन्न भएको बताए । भेरीगंगाको जहरेक्षेत्र र गुर्भाकोटको गुमी क्षेत्रमा नगरपालिका र पुल आयोजना विभाग कार्यालयले जग्गा विवाद नमिलाउँदा पुल निर्माणमा ढिलो भएको उनको भनाई छ । तीन स्पामको उक्त पुलको लम्बाई १४० मिटर रहेको छ ।
स्थानीय व्यवसायी गोपाल केसीले जहरेबजारको भेरी नदिको पुलको काम एकदम सुस्त गतिमा काम भइरहेको बताए । यस्तै ढिला सुस्तीमा काम भए अझै पाँच बर्ष पुल निर्माणमा समय लाग्ने उनको भनाई छ । अहिलेसम्म पुलको सबै पिलर निर्माण र एक स्पाम ढलान सम्पन्न भएको छ ।
अहिले निर्माण कम्पनीले भेरी नदिको पानी डाईभट गरि स्पाम निर्माणको काम सूरु गरेको छ । पुलको दुई स्पाम ढलानदेखि पुलको वारीपारी माटो पटान बाँकी नै छ । पुलको वारीपारी जग्गा विवाद हुँदा एक किलोमिटर सडक चौडा र कालोपत्रे गर्ने काम हुन सकेको छैन् । जहरे–गुमी जोड्ने भेरी नदिको पक्की पुल निर्माण लागत भने साँढे १५ करोड रहेको छ ।