बालकुमारी विक, चैत ९ -राष्टिय गौरवको आयोजनाको रुपमा रहेको भेरी बबई ड्राईभर्सन आयोजनाले भेरीगंगा नगरपालिका वडा नम्बर १२ मा डिपबोरिङ्ग जडान गरेपछि छिन्चुबजार क्षेत्रमा पिउने पानीका लागि राहात हुने भएको छ । भेरीगंगा वडा नम्बर १२ को पहलमा भेरी बबई ड्राईभर्सन आयोजनाले वडा नम्बर १२ र १० मा सिँचाई तथा खानेपानीका लागि डिपबोरिङ्ग जडान गरेको हो ।
छिन्चुबजारमा भैईरहेको पिउने पानीको अभाव, नियमित सिँचाईको समस्या टार्न डिपबोरिङ्ग जडान भएको वडाअध्यक्ष रामबहादुर डाङ्गीले बताउनुभयो । वडाको निरन्तर र विशेष पहलमा नगरपालिका रहेको कार्यालयदेखि पुर्व देउतीटोलमा डिपबोरिङ्ग जडान भएको वडाअध्यक्ष डाङ्गीले भन्नुभयो । सिँचाई र पिउने पानीका लागि डिप बोरिङ्ग जडान सकिएको वडा कार्यालयले जानकारी दिएको छ । डिप बोरिङ्ग जडान काम सकिएपछि देउती टोलमा खानेपानी र सिँचाईमा विशेष सुविधा पुग्ने छ । यस्तै छिन्चु बजारमा उक्त डिपबोरिङ्गको पानी ट्याकीमा राखेर वितरण गरिने भएको छ । छिन्चु खानेपानी तथा सरसफाई उपभोक्ता समिति अध्यक्ष धर्मराज खड्काले वडा नम्बर १२ को पहलमा जडान कार्य सम्पन्न भएको डिपबोरिङ्गको पानी समितिको ट्याकीमा जम्मा गरि वितरण गरिने बताउनुभयो । पहिलो चरणको डिपबोरिङ्ग खन्ने, भुमिगत पानी तान्ने कार्य सम्पन्न भएकोले अव ठेकेदारले छिटै मोटर, ट्रान्समिटर जडान गरि पानी ट्याकीमा खसाउने तयारी भएको खड्काले भन्नुभयो । देउती टोलमा सिँचाई र खानेपानीका लागि खनिएको डिपबोरिङ्गले वडा नम्बर १० र १२ मा राहात दिने अपेक्षा गरिएको छ ।
यस अघि आयोजनाले भेरीगंगाको वडा नम्बर ९,८ र ६ मा १३ वडा डिपबोरिङ्ग जडान सुरु गरेको थियो । वडा कार्यालयको पहल र प्रयासमा भेरी बबई ड्राईभर्सनबाट वडा नम्बर ९ मा ६ वटा डिपबोरिङ्ग वडा, टोलहरुमा सहज खानेपानी वितरणमा सुरु भएको छ । भेरीबबई ड्राईभर्सन आयोजनाले वडा नम्बर ९ वडामा ६ वटा डिपबोरिङ्ग जडान थालेको छ । भेरीगंगा वडा नम्बर ८ मा २ वटा र वडा नम्बर ६ मा ५ वटा डिप बोरिङ्ग जडान कार्य सूरु भएको हो ।