पालिकाले जग्गा वर्गीकरण नगर्दा जग्गा कारोवार ठप्प

0
152

सुर्खेत, पुष २ -सुर्खेतका भेरीगंगा, गुर्भाकोट र लेकबेशी नगरपालिकाले जग्गाको वर्गीकरण नगर्दा जग्गा किनबेच ठप्प भएको छ । नगरपालिकाबाट अहिलेसम्म जग्गा वर्गीकरण नहुँदा किनबेच, साटफेर, अंशबण्डासमेत बन्द रहेको छ ।
स्थानीय सरकारले अहिलेसम्म वडादेखि नै जग्गा वर्गीकरण नगर्दा जग्गा कारोवार ठप्प भएको हो । भूउपयोग ऐन र नियमावलीका कारण जग्गाको वर्गीकरण नगरी कित्ताकाटलगायतको काम नहुने भएकाले अंशबन्डा समे हुन सकेको छैन् । भूउपयोग ऐन र नियमावलीमा जग्गा वर्गीकरणको जिम्मेवारी स्थानीय पालिकाहरूलाई दिइएको छ ।

जग्गा वर्गीकरण नगर्दा अंशबन्डा, कित्ताकाटलगायत अन्य कारोबारसमेत रोकिएको हो । वर्गीकरणमा स्थानीय सरकारको चासो र क्षमता दुवै कम हुँदा काम हुन सकेको छैन । गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनले गुर्भाकोटमा अधिकाश काम सकिएकोले पुष महिनाभित्र प्राविधिकसंग छलफल परामर्श गरेको वर्गीकरण सकिने बताउनुभयो । नियमावलीमा कृषि र गैरकृषियोग्य जग्गाको वर्गीकरणका लागि छ महिनाको समयसीमा निर्धारण गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी मङ्सिर २३ भित्र सबै स्थानीय तहलाई कम्तीमा पनि कृषि र गैरकृषियोग्य जग्गाको वर्गीकरण गर्न परिपत्र गरिसकेको छ । यो विषयमा अहिलेसम्म कुनै पनि स्थानीय पालिकाले काम गरेका छैनन् । नियमावली गत जेठमा जारी गरिएको हो । लेकबेशी नगरपालिकाका मेयर उमेशकुमार पौडेलले लेकबेशीमा जग्गा वर्गीकरणको काम सूरु भएको बताउनुभयो । नियमावलीअनुसार चार आना एक पैसाभन्दा कम जग्गा कित्ताकाट नहुने भएकाले कम जग्गामा बढी अंशियारको अंशबन्डा गर्नुपर्ने व्यावहारिक समस्या छ । भेरीगंगा नगरपालिका मेयर यज्ञप्रसाद ढकालले नगरपालिकाभित्र एक सातामा जग्गा वर्गीकरण काम सकिने बताए ।

कृषियोग्य जग्गाको संरक्षण, खण्डीकरण नियन्त्रण, चक्लाबन्दी कार्यक्रममार्फत कृषि उत्पादन वृद्धि र खाद्य सुरक्षाको प्रत्याभूति, पूर्वाधार विकास, व्यवस्थित सहरीकरण र सुरक्षित आवास, प्राकृतिक स्रोतसाधनको व्यवस्थापनलगायतका उद्देश्यसहित भूमि वर्गीकरणको व्यवस्था गरिएको हो । ऐन र नियमावलीमा कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक महत्व र अन्य गरी १० वटा क्षेत्रमा भूमि वर्गीकरणको व्यवस्था गरिएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here