भेरीगंगा, बैशाख १५- नेपाली कांग्रेस भेरीगंगा ११ वडा कार्यसमितिको आयोजनामा प्रथम वडा सम्मेलन सम्पन्न भएको छ । शुक्रबार कांग्रेस क्षेत्र नम्बर १ को क्षेत्रीय कार्यालयमा सम्पन्न सम्मेलन वडा सभापति जस्बिर चन्दको सभापतित्वमा, प्रमुख अतिथि क्षेत्रीय सभापति झकबहादुर डाङ्गी, विशेष अतिथि प्रदेश ख सभापति भुपेन्द्र सुवेदीको सहभागीतामा सम्पन्न भएको हो ।
प्रथम वडा सम्मेलन सम्पन्नमा अतिथिसंगै वडा, नगरका नेता र क्रियाशील सदस्यको उपस्थितिमा छलफल भएको थियो । प्रथम वडा सम्मेलनले सचिव महेश रानाबाट प्रस्तुत वडाको सांगठनिक, राजनीतिक र आर्थिक प्रतिवेदन पारित गरेको छ । यस्तै नगर प्रशिक्षण समिति सदस्य, नेपाल शिक्षक संघ कर्णाली प्रदेश सदस्य खड्गबहादुर चन्दबाट वडा कार्यसमितिको काम, क्रियाशील सदस्यको काम, वर्तमान राजनीतिमा प्रशिक्षण, उपलब्धि मूलक प्रस्तुतीय गरिएको थियो । यस्तै सम्मेलनले पञ्चायत कालमा बहुदलका पक्षमा लागेर प्रजातन्त्र स्थापना र स्थापना पश्चात् कांग्रेसको संगठन निर्माणमा लागेका आदर्श, निष्ठा, त्यागका प्रतिमुर्ति प्रजातन्त्र सेनानी डम्बरबहादुर रास्कोटीको नामबाट अध्ययन केन्द्र भेरीगंगा ११ मा एक वर्षभित्र स्थापना गर्ने निर्णय गरेको थियो भने नेपाल सरकारका उपप्रधानमन्त्री एवं रक्षा,कानुन,न्याय मन्त्री पूर्णबहादुर खड्का, प्रदेश सामाजिक बिकास मन्त्री खड्गबहादुर पोखरेललाई बधाई, शुभकामना निर्णग गरेको थियो । यस सम्मेलनमा अब कांग्रेसका नेता, परिवारको रुपमा अगुवा भएर युवादेखि महिला सवैको हितमा लाग्नपर्ने समय आएकाले वडाका साथीहरु घरघरमा सुख दुखमा जोडिन, वडाका सरकारी गैरसरकारी संघसंस्थामा सहभागी भइ नेतृत्व गरि जनपक्षिय काम गर्न नगर सभापति रामबहादुर सिँहले आग्रह गर्नुभयो ।
उहाँले २०४८ देखि हालसम्म भएका योजना, रोजगारीका बिषयमा वडाले समीक्षा गर्न साथै सवै तहबाट हुने बिकास अनुगमन, रेखदेख गरि गुणस्तरीय बनाउन पहल गर्नुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा प्रमुख अतिथि तथा क्षेत्रीय सभापति डांङ्गीले पार्टी सदस्यहरुले जनताको समृद्धि हुने विकास, स्वरोजगारमूलक कार्यक्रम, आत्मनिर्भर कार्यक्रम वडा, नगर सरकारले गर्नका लागि सधै आवाज उठाउनका लागि आग्रह गर्नुभयो । उहाँले आगामी निर्वाचन वडाले जित्ने गरि संगठन निर्माणमा यो कार्यसमिति लाग्न अनुरोध गर्नुभयो ।