हुमबहादुर कार्की, फागुन २१ -नेपाली कांग्रेस गुभाकोट नगर कार्यसमितिको प्रथम ऐतिहासिक नगर सम्मेलन शनिबार मेहेलकुनामा सम्पन्न भएको छ । नगर कार्यसमिति सभापति हस्त पुनको सभापतित्व र नेपाली कांग्रेसका उपसभापति तथा प्रतिनिधीसभा सदस्य पुर्णबहादुर खड्काको प्रमुख आतिथ्यमा प्रथम नगर सम्मेलन सम्पन्न भएको हो ।
नेपाली कांग्रेस गुर्भाकोट नगर सम्मेलन उद्घाटन गर्दै उपसभापति खड्काले आगामी आर्थिक वर्षको बजेट कर्णालीलाई प्राथमिकतामा राखेर आउने बताए । उनले ठूलो भूगोल र कम जनसंख्या भएको कर्णाली र सुदूरपश्चिममा संघीय बजेट न्यून आउने गरेको यसअघिको परम्परालाई तोड्दै आगामी आर्थिक वर्षको बजेट कर्णाली र सुदूरपश्चिमलाई केन्द्रमा राखेर ल्याइने बताए । ‘अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहालसहितका शीर्ष नेताहरु कर्णालीका जिल्लाहरुमा भएका चुनावी अभियानका क्रममा मैलेनै कर्णालीलाई बजेटमा प्राथमिकता दिने प्रस्ताव राखेको थिएँ, त्यसमा अहिलेका प्रधानमन्त्री प्रचण्डले समर्थन जनाउनु भएको थियो,’ गुर्भाकोटको मेहेलकुनामा कांग्रेसको नगर सम्मेलनको उद्घाटन गर्दै उपसभापति खड्काले भने, ‘चुनावका बेला गरेको बाचा आगामी आर्थिक वर्षको बजेटमार्फत सम्बोधन हुन्छ ।’
सम्मेलनमा नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिका कोषाध्यक्ष खगिसरा आचार्य, प्रदेश सदस्य मैना विक, कांग्रेस जिल्ला सभापति खड्कप्रसाद पोखरेल, कांग्रेस जिल्ला उपसभापति विष्णुबहादुर खड्का, कांग्रेस क्षेत्र नम्बर १ क्षेत्रीय सभापति झकबहादुर डाङ्गी, पार्टीका क्षेत्रीय प्रतिनिधि, पार्टीका भातृ एवं शुभेच्छुक संघका प्रमुख, वडा सभापति, नगर कार्यसमिति, वडा कार्यसमितिका सदस्यहरू र क्रियाशील सदस्यहरुको सहभागीता रहेको थियो ।
नगर सम्मेलनमा पार्टीका नगरको एक बर्षका कार्यक्रम र प्रगति समीक्षा गरिएको नगर सभापति पुनले बतातए । पार्टीलाई नगरको नेतृत्वमा नगर कमिटि, वडा कमिटि, भातृसंगठन, क्रियाशिल सदस्यहरुलाई चलायमान र बलियो कसरी बनाउने भन्ने विषयमा छलफल केन्द्रित भएको उनले भने । गुर्भाकोटको मेहेलकुनास्थित सिटि हलमा आयोजित नगर सम्मेलनमा सँयौको सहभागीता रहेको थियो ।