सुर्खेत, बैशाख ५ -नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ । कांग्रेसले तीन जना मन्त्रीको नाम मुख्यमन्त्री राजकुमार शर्मालाई मंगलबार बुझाएको हो ।
कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सुर्खेत १ क बाट निर्वाचित सांसद खड्कबहादुर पोखरेल, जाजरकोट प्रदेशसभा ‘क बाट निर्वाचित बेदराज सिंह र दैलेख–१ क बाट निर्वाचित सांसद कृष्णकुमार विसीलाई मन्त्रीका लागि सिफारिस गरेका हुन् । पोखरेल सामाजिक विकास मन्त्री, सिंहलाई आर्थिक मामिला तथा योजना मन्त्री र विसीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री हुनेछन् । कांग्रेस र माओवादी केन्द्रवीच भएको सहमति अनुसार सरकारको नेतृत्व आधा–आधा कार्यकाल गर्ने, २०७८ बैशाखमा भएको सहमति अनुसार मन्त्रालयको संख्या मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आठ कायम गर्ने सहमति भएको थियो ।
सो सहमती कार्यान्वयन गर्नका लागि मंगलबार मन्त्रिपरिषद् बैठक बस्दैछ । त्यस लगत्तै कांग्रेसबाट सिफारिस भएका मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ खाने छन् ।