भेरीगंगा, बैशाख २३ -नेपाली काँग्रेसले भेरीगंगा नगर कमिटिले नगरका मेयर र उपमेयर उम्मेदवारका लागि चुनावी साँझा प्रतिबद्धता सार्वजनिक गरेको छ । भेरीगंगा नगरपालिकाको प्रमुख, उपप्रमुख गठबन्धनका तर्फबाट जारी गरिएको घोषणा पत्रमा कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथामिकता दिएको छ । स्थानीय तह निर्वाचन २०७९ बैशकाख ३० गतेका लागि भेरीगंगा नगरपालिकामा काँग्रेसले पहिलो नम्बरमा कृषि, दोस्रोमा शिक्षा, तेस्रो नम्बरमा स्वास्थ्यलाई प्राथामिकता दिएको छ । त्यसपछि क्रमशः खेलकुद, आयआर्जन स्वरोजगार, पुर्वाधार विकास, वन तथा वातावरण, लक्षित समुदाय र सुशासनमा जोड दिएको छ ।
घोषणा पत्रमा सामाजिक, सुशासन, असलशासन, आर्थिक, खेलकुद, कृषि, शिक्षा लगायतका क्षेत्रमा आगामी पाँच बर्षमा गरिने कामका बारेमा उल्लेख गर्दै चुनावी घोषणा पत्र जारी गरिएको हो । नेपाली काँग्रेसले भेरीगंगा नगरपालिकामा नेतृत्व लिएमा आगामी पाँच बर्ष ‘जनजनको ईच्छा, स्वास्थ्य र शिक्षा’ नारालाई अगाडि बढाउँदै काम गर्ने प्रतिबद्धता भेरीगंगा घोषणापत्रमा गरिएको छ । शिक्षातर्फ नगरपालिकास्तरीय स्नातकोत्तर उत्र्तिण मानिसहरुको बौद्धिक समूह निर्माण गरी नगरपालिकाको समग्र शैक्षिक विकासको सम्भावना तथा अवसरहरुको बारेमा नियमित छलफल अन्तरक्रिया गर्ने, उच्च क्षमतायुक्त मानव संशाधन तयार गर्ने, नगरपालिका भित्रका सामुदायिक विद्यालयमा व्यवसायिक शिक्षामा जोड दिने, प्राविधिक कार्यक्रम सञ्चालन गर्ने सामुदायिक विद्यालयलाई प्रोत्साहन गर्न अनुदानस्वरुप १० देखी २० लाख रुपैयाँ दिने प्रतिबद्धता रहेको मेयरका उम्मेदवार रामबहादुर सिँहले बताउनुभयो । विपन्न समुदाय तथा शारीरिक रुपमा अशक्तता भएका बालबालिकालाई लक्षित गरी व्यवसायिक आवासीय विद्यालयको निर्माण गरी गुणस्तरीय शिक्षा दिने, उच्च शिक्षा अध्ययन गर्ने गरिब, जेहेनदार, दलित छात्र छात्राहरुलाई छात्रवृत्तिको व्यवस्था गर्ने प्रतिबद्धता पनि गरिएको छ ।
स्वास्थ्यतर्फ भौतिक संरचनाको निर्माण, स्वास्थ्य उपकरण औषधी तथा खोप व्यवस्थापन, विपन्न नागरिकलाई निशुल्क उपचारको प्रबन्ध, कर्मचारीहरुलाई उच्च मनोबल निर्माण गर्न प्रोत्साहन भत्ताको व्यवस्था गर्ने प्रतिबद्धता काँग्रेसको भेरीगंगा घोषणपत्रमा गरिएको छ । मातृशिशु सुरक्षा कार्यक्रमअन्र्तगत सुत्केरी महिलालाई प्रोत्साहनस्वरुप २ हजार रुपैयाँ उपलबध गराउने, नगरपालिका एम्बुलेन्स सेवा सबै वडामा सहज बनाउने ज्येष्ठ नागरिक र गर्भवती महिलाहरुलाई एम्बुलेन्स सेवा निशुल्क दिने प्रतिबद्धता पनि गरिएको उपमेयरका उम्मेदवार नन्दबहादुर कार्कीले बताउनुभयो । कृषिको सान, कृषकको मान, गाँउको पहिचान नाराका साथ कृषितर्फ काम गर्ने प्रतिबद्धता घोषणापत्रमा गरिएको छ । भेरीगंगाको सम्बृद्धि उत्पादनमा वृद्धि भन्ने नाराका साथ एक गाँउ एक उत्पादन नीतिमा जोड दिई गाँउको पहिचान स्थापित गर्दै किसानको उत्पादन नगरपालिकाले खरिद गर्ने प्रतिबद्धता पनि गरिएको छ ।
‘प्रतिभा पहिचान नगरपालिकाको शान’ कार्यक्रमअन्तर्गत नगरपालिकामा विभिन्न क्षेत्रसंग सम्बन्धित प्रतिभाहरुको पहिचान गरी उनीहरुको थप विकासका लागि सहयोग गर्ने, नगरपालिकास्तरीय खेलकुद मैदान तथा वडा स्तरमा खेल मैदानहरु निर्माण गर्ने लगायतका प्रतिबद्धता खेलकुद क्षेत्रमा गरिएको छ । पुर्वाधार विकासतर्फ भूमिहीन तथा व्यवस्थित वसोबासको प्रबन्ध गर्ने, एक घर एक धाराको व्यवस्था गर्ने, सडक निर्माण गर्दा वातावरणीय स्वच्छता कायम गर्ने, नगरपालिकाको चक्रपथ निर्माण गर्ने प्रतिबद्धता गरिएको छ । भेरीगंगा नगरपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल गरिएको छ । काँग्रेसबाट रामबहादुर सिंह मेयर र माओवादीबाट नन्दबहादुर कार्की उपमेयरका उम्मेदवार छन् ।