कर्णालीका उम्मेदवारहरु खेतमै पुगेर भोट माग्दै

0
203

टेकेन्द्र बस्याल, सुर्खेत -कर्णाली प्रदेशका कृषकलाई तिहार लागेपनि धानबाली भित्र्याउन चटारो भैईरहेको बेला मंसिर ४ को निर्वाचनमा उम्मेदवार बनेका उम्मेदवारहरु भने खेतमै पुगेर भोट माग्न हतारमा देखिन्छन् । कर्णाली प्रदेशका विभिन्न जिल्लाका उम्मेदवारहरु खेतबारीमा पुगेर कृषकहरुसंग भोट माग्दै गरेका दृश्य बाक्लो बन्दै गएका छन् ।

धान भित्र्याउने कामले दिनभर खेतबारीमा रहने कृषकहरुसंग भेटघाट, परिचय र भोट माग्न उम्मेदवारहरु खेतबारीमै पुग्ने गरेका हुन् । यतिबेला गाउँगाउँमा मत माग्न पुग्ने उम्मेदवारहरु प्रायः खेतबारीमा कार्यकर्तासंगै पुग्ने गरेका दृश्यहरु देखिने गरेका हुन् । पार्टीका झण्डासंगै नेता, कार्यकर्तासंगै उम्मेदवार खेतबारीमै पुगेर भोट माग्ने गर्नुपर्ने बाध्यता जस्तै बनेको छ । सुर्खेत क्षेत्र नम्बर १ (ख) का प्रदेशसभा उम्मेदवार खड्कबहादुर पोखरेलले मतदाताहरु खेतमै भेटिने हुँदा भोट माग्न र आफ्ना विकासका एजेण्डा लिएर खेतमै पुग्ने गरेको बताए । “खेतबारीमा काम गर्दै गरेका कृषक तथा मतदातासंगै काममा सहयोग गर्दै मत माग्ने क्रम जारी छ,” उनले भने । कर्णाली प्रदेशमा मतदाताका खेतखेतमा पुग्दा उम्मेदवारहरुले जनताका सानासाना समस्याहरुलाई उठान र पूरा गर्ने वाचा समेत गरेका छन् । टोलवस्तीका समस्याहरुलाई उम्मेदवारहरुले प्राथमिकतामा राख्ने गरेका छन् । मुगुका प्रदेशसभा उम्मेदवार गोपाल बमले कृषकका खेतबारीमा पुगेर सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र कृषिका क्षेत्रको विकासका कुरामा छलफल हुने गरेको बताए । “आफू निर्वाचित भएर आए निर्वाचन क्षेत्रका ग्रामिण सडक कालोपत्रे, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि, कृषि पेशातर्फ युवालाई आकर्षित गर्ने लगायतका गाउँमै रोजगारी सिर्जना हुनेखालका कार्यक्रमहरु ल्याउनु प्राथामिकता दिन्छु,” उनले भने ।

खेतबारीमा उम्मेदवारहरु मत माग्ने र विकासका कुरामा छलफल गर्ने मात्र होईन् धान भित्र्याउन र खेतबारी जोत्नमा समेत सहयोग गर्छन् । नेता कार्यकर्तालाई खेतबारीमा मत माग्न हतार र बाध्यता भएपनि कृषकहरुलाई भने उम्मेदवारप्रति खासै चासो र रुचि देखिदैन् । कृषकहरु हरेक निर्वाचनमा उम्मेदवारका आश्वसन र सपनाबाट दिक्क देखिन्छन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here