सुर्खेत, कार्तिक १९- सुर्खेत गुर्भाकोट नगरपालिका वडा नम्बर २ स्थित डाँडाडावका मतदातालाई बर्षौदेखि खानेपानीको समस्या छ । पिउने पानी, कपडा धुन नुहाउनदेखि घरपालुवा जनावरलाई पानी समेत दिन दैनिक तीन घण्टा हिडेर पानी बोकी ल्याउनुपर्छ । यतिबेला मंसिर ४ का लागि घरदैलोमा भोट माग्न जाने उम्मेदवारसंग स्थानीय मतदाता खानेपानीको समस्या सुनाउन बाध्य छन् । गाउँमा पुग्ने उम्मेदवारसंग अन्य विकासभन्दा खानेपानीका समस्या समाधान गरिदिन उनीहरुले आग्रह गर्ने गरेका हुन् ।
सुर्खेत र सल्यान जिल्लाको सिमास्थित पहाडी भुगामा पर्ने डाँडाडाव गाउमा ७५ घरधुरीमा साँढे चार सय स्थानीयको बसोबास छ । हरेक चुनावमा नेता र उम्मेदवार खानेपानी समस्या समाधान गर्ने भन्दै आश्वसन दिने तर खानेपानी समस्या समाधान नगरेको स्थानीय लालबहादुर वलीले बताए । “यतिबेला मत माग्ने उम्मेदवारसंग हामीले सडक, बाटो, बत्ती मागेका छैनौ,” उनले भने, “सिंगो गाउँका मतदाताको माग भनेकै खानेपानीको हो ।” जतिपनि उम्मेदवार गाउँमा पुग्छन् यो बस्तीमा स्थानीयय खानेपानी समस्याको माग राख्ने गरेका छन् । हरेक चुनावमा खानेपानी समाधान गर्ने वाचा दिने उम्मेदवारलाई भोट दिदै आएका छन् । तर उम्मेदवारले चुजाव जितेपछि फर्केर नहरेको उनीहरुको गुनासो छ । दैनिक जान डेढ घण्टा र आउन डेढ घण्टा पैदल हिडेर डोकोमा पानी बोकेर ल्याउनु परेको स्थानीय सीता खत्रीले भनिन् । पहाडको गाउँबाट तलको खोलाबाट खानेपानी लिन विहानै चार बजे हिड्नुपरेको उनको भनाई छ । “घरको एक जनाको दैनिक काम भनेकै पिउनेपानी, गाईवस्तु र घरायसी कामका लागि पानी बोकेर ल्याउँदैमा ठिक्क हुने गर्छ,” खत्रीले भनिन् ।
समुन्द्रसतह देखि दुई हजार मिटर उचाईमा रहेको डाँडाडावका मतदाता बस्ती बसेदेखि नै खानेपानीको समस्या झेल्दै आएका छन् । अहिले स्थानीय खोलाबाट धमिलो पानी पिउन बाध्य छन् । यो गाउँमा पानीको श्रोत नहुँदा आकाशे पानीको भरमा खेतीबाली लाग्ने गरेको छ ।