सुर्खेत, चैत २५ -नेपाल सरकारका उपप्रधान तथा रक्षा मन्त्री पुर्णबहादुर खड्काले गठबन्धन सरकारको पहलमा अवको चार बर्ष समग्र कर्णाली प्रदेश र सुर्खेत जिल्लाको विकास हुने बताउनुभएको छ । अहिलको वर्तमान केन्द्रिय सरकारमा गठबन्धनबाट कर्णालीले उपप्रधान तथा रक्षा, उर्जा तथा जलश्रोत र भौतिक पुर्वाधार मन्त्री पाएको बताउँदै चार बर्षका लागि विकासको स्वर्णीम समय हुने बताउनुभएको हो । नेपाली कांग्रेस सुर्खेत क्षेत्र नम्बर १ को क्षेत्रीय सम्मेलनको उद्घाटनमा बोल्दै उपप्रधानमन्त्री खड्काले समग्र कर्णाली प्रदेशको विकासमा तीन मन्त्री एकस्थानमा रहेको उल्लेख गर्नुभयो ।
गठबन्धन सरकारका तर्फबाट कर्णालीका मन्त्रीहरुको जिम्मेवारी बाडफाडमा आफ्नो पहलमै उर्जा र भौतिक पुर्वाधारमन्त्री बाडफाड भएकोले विकास गर्न सहज हुने बताउनुभयो । आफुले विकासे मन्त्रालय नपाएपनि कर्णाली प्रदेश र सुर्खेतको विकासका लागि आवश्यक मन्त्रालयले कर्णालीले पाएको उपप्रधानमन्त्री खड्काको दावी छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नेतृत्व गठबन्धन सरकारले आफ्नो कार्यकालमा कर्णाली प्रदेशको विकासका लागि अन्य प्रदेशकाभन्दा धेरै बजेट आउने समेत भन्नुभयो । कर्णली प्रदेशमा सडक, उद्योग, व्यापार, पर्यटन, भौतिक पूर्वाधार विकास गर्नदेखि यहाँको गरिवी, भोकमरी, अभाव नियन्त्रणमा अवको सरकार लाग्ने खड्काले बताउनुभयो ।
उपप्रधानमन्त्री खड्काले कर्णालीका कांग्रेस नेता, कार्यकर्तालाई भैईरहेका विकास निर्माण, सुशासन र ढिलासुस्तीमा ठेकेदार, कर्मचारीलाई खवरदारी गर्न लाग्न निर्देशन दिनुभयो । यस्तै उहाँले पार्टी पंक्तिलाई अनुशासिन, जिम्मेवार र जनताप्रति वफादार भई काम गर्न समेत आग्रह गर्नुभयो । नेपाली कांग्रेसको पहिलो क्षेत्रीय सम्मेलनमा उपप्रधान तथा रक्षामन्त्री खड्काले पार्टीकार्यकर्ताको शुभकामना तथा बधाई कार्यक्रममा समेत सहभागी हुनुभयो । उहाँलाई कांग्रेस क्षेत्र नम्बर १ कार्यसमिति, प्रदेश कार्यसमिति, नगरसमिति र शिक्षक संघले संयुक्त रुपमा सम्मान तथा बधाई दिएका थिए । क्षेत्रीय सम्मेलनमा सचिव पदमबहादुर केसीले कार्यप्रगति र आगामी कार्ययोजना पेश गर्नुभएको थियो भने कोषाध्यक्ष गोरखबहादुर खत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रथम सम्मेलनमा स्वागत मन्तव्य कांग्रेस क्षेत्रीय कार्यसमिति उपसभापति केशरबहादुर वलीले राख्नुभएको थियो ।
क्षेत्रीय सम्मेलनमा कांग्रेस जिल्ला सभापति खड्कप्रसाद पोखरेल, कर्णाली प्रदेश सभापति ललितजंग शाही, कर्णाली प्रदेश संसदीय दलका नेता तथा पुर्वमुख्यमन्त्री जीवनबहादुर शाही लगायतले सम्बोधन गर्नुभएको थियो । नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति झकबहादुर डाङ्गीको सभापतित्व र उपप्रधान तथा रक्षामन्त्री खड्काको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।